Kakhara सबैको खबर सम्पूर्ण खबर
देवी ओलीको नेतृत्वमा नेकपा एस रुकुम पश्चिमको निर्वाचन परिचालन कमिटी
छैटाैं जिल्ला कमिट बैठकका निर्णय सार्वजनिक गर्दै नेकपा एसका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

जिल्ला पार्टी कार्यालय खलंगामा मंगलबार बसेको छैटौं जिल्ला कमिटि बैठकले पार्टीका जिल्ला इन्चार्ज देवी ओलीको संयोजकमा १ सय ३ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको नेकपा एसका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो । 

बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फ अघि सारिने उम्मेदवारहरुबारे प्रारम्भिक छलफल समेत गरेको छ । त्यस्तै निर्वाचन घोषणा पत्रमा संलग्न गर्ने विषयवस्तु तथा सुझाव संकलन गरी प्रदेश र केन्द्रमा पठाउन जिल्ला अध्यक्ष हरिप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय सुझाव कार्यदल पनि गठन गरिएको छ । 

यसका अतिरिक्त बैठकले जिल्ला कमिटी गठन अन्तर्गत ९ सदस्यीय कार्यालय र ३५ सदस्यीय सचिवालय गठन गर्नुका साथै २१ ओटा विभागहरु र प्रदेश निर्वाचन समन्वय कमिटी क र ख गठन गरेको छ । साथै फाँटहरु र वडा इन्चार्जहरुको जिम्मेवारी पनि बैठकले तोकेको छ । 

बैठकले जनसरोकारका विषयमा ५ वटा समसामयिक प्रस्तावहरु पारित गरेको छ भने सदस्यता अद्यावधिक, नविकरण र थप गर्नुका साथै संगठन परिचालनका लागी १ महिने कार्ययोजना बनाइएको नेकपा एस रुकुम पश्चिमले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । 

आगामी निर्वाचनमा बाम लोकतान्त्रिक संघिय तथा प्रदेश सरकार निर्माणका लागि पार्टी शक्तिलाई क्रियाशिल बनाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update