रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पछिल्लाे पटक १८ वटा मुद्दा फछ्र्यौट गरेको छ । पहिलो पटक निर्वाचित जनप्रतिनिधिबाट गठित पहिलो न्यायिक समिति र २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबाट गठित न्यायिक समितिले पछिल्ला केही महिनामा यी मुद्दा फछ्र्यौट गरेको हो ।
गत आर्थिक वर्ष २०७८/०७९ बाट सरी आएका केही र चालु आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएको केही गरी १८ मुद्दा फछ्र्यौट गरेको न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभयो ।
न्यायिक समितिमा घरायसी झगडा, आर्थिक लेनदेन, श्रीमान–श्रीमति विच भएका विवाद, बाटो र जग्गा सम्बन्धीका उजुरी बढी मात्रामा आउने गरेका छन् । समितिमा रहेका १९ उजुरी मध्य १८ वटा उजुरीको मिलापत्र मार्फत मुद्दा फछ्र्यौट गरिएको संयोजक रेउलेले बताउनुभयो ।
सोही अधिकार अन्तर्गत पालिकाले कानुन तर्जुमा र देवानी प्रकृतिका उजुरीहरुको सुनुवाई छलफल र मेलमिलाप गर्दै आइरहेको छ । न्यायिक समितिसँग सजाए निर्धारण गर्ने अधिकार नभएकाले आएका हरेक उजुरीमा वादी र प्रतिवादी दुबै पक्षलाई न्यायको अनुभुती हुनेगरी मिलापत्र गर्ने गरिएको संयोजक रेउलेले बताउनुभयो ।
आएका उजुरीहरुमा सकेसम्म मिलापत्र गराउन प्रयास गर्ने मिलापत्र गर्न दुबै पक्ष मन्जुर नभए अदालतमा सिफारिस गर्ने गरिएको कानुनी सहजकर्ता पल्लभी न्यौपानेले जानकारी दिनुभएको छ । उजुरी दर्ता पश्चात सम्पर्कमा नआएका निवेदकलाई सम्पर्कमा ल्याई विवादको अवस्था बुझेर परामर्श दिने गरिएको छ ।