रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टनको उपाधी सशस्त्र प्रहरीको विभागिय जोडीले जितेको छ । विहीबार भएको फाइनल खेलमा रुकुम पश्चिमको अनिल बुढा र ध्रुवविक्रम थापाको जोडीलाई २–०, को सोझो सेटमा हराउँदै एपीएफका प्रियन्सुसिह क्षेत्री र पेम्बा शेर्पाको जोडी पहिलो बनेको हो । पहिलो सेटमा १७ का विरुद्ध २१ ल्याएको एपीएफको जोडीले दोस्रो खेलमा १९ विरुद्ध २१ ल्याएको थियो । केवेन्द्र गौतम र भानु सुनारको जोडीलाई जितेर प्रियन्सु र पेम्बाको जोडी फाइनल पुगेको थियो भने डम्मर थापा र जनक खड्काको जोडीलाई हराएर अनिल र ध्रुवको जोडी फाइनल प्रवेश गरेको थियो ।
सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको उक्त प्रतियोगितामा डम्मर थापा र जनक खड्का तथा केवेन्द्र गौतम र भानु सुनारको जोडी सेमी फाइनलसम्म पुगेका थिए । पहिलो बनेको एपीएफको जोडीले ५१ हजार १ सय ५१ रुपैयाँ नगदको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएको बुढा र थापाको जोडीले ३१ हजार १ सय ३१ रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दा सेमी फाइनलसम्म पुगेको २ जोडीलाई ११ हजार १ सय ११ रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
जनयुद्ध दिवशको अवसर पारी आयोजना गरिएको उक्त प्रतियोगितामा रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, रोल्पाका गरी ४२ जोडीले सहभागिता जनाएका थिए । फागुन ३ गते सुरु भएको प्रतियोगिता विहीबार सम्पन्न भएको हो । जिल्ला ब्याडमिन्टन संघका सचिव सोहेल श्रेष्ठले ब्याडमिन्टन खेलको प्रबद्र्धन तथा खेलाडीको अनुभव, सिकाई आदानप्रदानका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय जिल्लामा ब्याडमिन्टन खेलप्रति युवाको आकर्षण बढेको सचिव श्रेष्टले बताउनुभयो । गत वर्ष पनि यही अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।