Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा पाँच देखि ११ वर्ष उमेरका बालबालिकालाई भदौ ७ देखि फाइजर खोप 
जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठक ।

रुकुम पूर्वका पाँच वर्षदेखि ११ वर्ष उमेर मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप लगाइने भएको छ । यही ७ गते देखि ११ गतेसम्म पाँच वर्षदेखि ११ वर्ष उमेर मुनिका बालबालिकालाई फाइजर खोप लगाइने भएको हो । बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीका अनुसार रुकुमपूर्वमा पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको पहिलो मात्रा फाइजर खोप भदौ ७ गतेदेखि ११ भदौ गते सम्म लगाइने भएको हो । त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइराखिएको गिरीले जानकारी दिनुभयो  । जस अनुसार भूमे र सिस्ने गाउँपालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको गिरीले जानकारी दिनुभयो । अब पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पनि भोलि बिहीबार तालिम दिइने उहाँको भनाइ रहेको छ । 

पहिलो खोप लगाएको २१ दिन देखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको कूल जनसङ्ख्या ५८ हजार ९० जना मध्ये ५ वर्षदेखि ११ वर्षमुनिका बालबालिकाको  सङ्ख्या ११ हजार ५ सय ७ रहेको छ । 

जसमध्ये पुथाउत्तरगङ्गा गाउँपालिकामा सबै भन्दा धेरै ४ हजार ७ सय १५ जना, सिस्ने गाउँपालिकामा ४ हजार २ सय ८१ जना र भूमे गाउँपालिकामा २ हजार ६ सय ११ जना बालबालिकालाई फाइजर पहिलो खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । पुथाउत्तरगङ्गामा खोप केन्द्र ४१, भूमेमा ३३ र सिस्नेमा ४३ खोप केन्द्र निर्धारण गरिएको । विद्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक भवनलाई खोप केन्द्रको रुपमा प्रयोग गरिने बताइएको छ । 

कोभिड–१९ खोप समन्वय समितिको बैठकले शिक्षा विकास तथा समन्वय इकाइलाई फाइजर खोप सञ्चालन सहयोगका लागि प्रत्येक विद्यालयलाई पत्रचार गर्ने निर्णय गरेको छ । साथै जिल्ला स्थित स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका युएमएन, सुआहारा, सर्वाङ्गिण विकास केन्द्रले पनि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

खोप लगाएपछि कसैमा सामान्य असर देखा पर्न सक्ने सूचना अधिकारी गिरीले बताउनुभयो । असर देखा परेपनि डराउनु नहुने उहाँको भनाइ रहेको छ । यसैगरी विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।


 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update