रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरीनेटामा रहेको बाल शिक्षा आधारभुत विद्यालयमा अवैध तरिकाले शिक्षक नियुक्ति गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन । शिक्षक आवश्यकताको विज्ञापन नै नगरी सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकका आफन्तलाई नियुक्ति दिएको स्थानीयको आरोप छ ।
शिक्षक आवश्यकताको जानकारी नगराई विज्ञान विषय पढाउने शिक्षकलाई अवैध तरिकाले कुनै विधि प्रक्रिया पुरा नगरी नियुक्त गरिएको स्थानीय आशादेवी बुढाथोकीले बताउनुभयो । अवैध तरिकाबाट नियुक्त गरिएका शिक्षक कुनै हालतमा पनि मान्य नहुने उहाँले बताउनुभयो ।
निश्चित व्यक्त्तिलाई लाभ हुने गरी गैर कानुनी तरिकाबाट शिक्षक नियुक्ति गरिएकाले त्रिवेणी गाउँपालिकाको शिक्षा युवा, तथा खेलकुद शाखा र पालिकामा समेत नियुक्ति बदर गरी विधि र प्रक्रिया अनुसार पुनः शिक्षक नियुक्ति गर्न माग गरिएको स्थानीय सुमित्रा बुढाथोकीले बताउनुभयो । यदि त्यसो नगरेमा विद्यालयमा तालबन्दी गर्ने चेतावनी समेत स्थानीयहरुले दिएका छन ।
विद्यालय व्यवस्थापन समितिले भने शिक्षक मागको सूचना विद्यालयमा टाँस गरेको जनाएको छ । तर सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक नगरिएको बताएको छ । परीक्षा सञ्चालन गरी २ जनाको प्रतिस्पर्धाबाट शिक्षक छनौट गरिएको विद्यालयको दाबी छ । शिक्षक नियुक्तिको विषयमा आलोचना भएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर छलफल गरि निर्णय गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमदत्त बुढाथोकीले बताउनुभयो ।
छिट्टै बैठक बसी पुनः शिक्षक आवश्यकताको विज्ञापन खोलिने विव्यसले जनाएको छ । उक्त विद्यालयमा संघीय सरकारले शिक्षण सिकाई अन्तर्गत १ जना विज्ञान विषयको शिक्षकको कोटा उपलब्ध गरएको छ । विद्यालयले नियुक्ति दिएपछि नयाँ शिक्षक भने भदौ १ गते देखिनै विद्यालयमा हाँजिर भइसकेका छन् ।