Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा 

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ नम्बर वडाकी सुधा बस्नेतलाई साउन १५ गते सुत्केरी व्यथा लागेपछि रुकुमकोटमा रहेको जिल्ला अस्पतालमा लगियो । जिल्लामा सुत्केरी हुने अवस्था नदेखिएपछि उहाँलाई जिल्ला अस्पताल रुकुम पश्चिम लैजान भनियो । सुत्केरी व्यथाले च्यापेकी बस्नेतलाई अन्य यातायातका साधन मार्फत लैजान सम्भव भएन । उहाँका परिवारले सिस्ने गाउँपालिकामा सम्पर्क गरे । त्यस लगतै गाउँपालिकाको एम्बुलेन्स मार्फत निःशुल्क रुपमा जिल्ला अस्पताल सल्ले लगियो । 

यस्तै ५ नम्बर वडाकै रीता रोकालाई पनि साउन ३० गते राती सुत्केरी व्यथाले च्याप्यो । घर परिवारले राती नै बोकेर रुकुमकोटमा अवस्थित जिल्ला अस्पताल पुर्यायाे । ३१ गते विहान उहाँले छोरीलाई जन्म दिनुभयो । उहाँलाई गाउँपालिकाको एम्बुलेन्सले निःशुल्क रुपमा घर पुर्याईदियो । 

सिस्ने गाउँपालिकाले सुत्केरी र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । रुकुम पूर्व अस्पतालमा ल्याउन तथा घर लैजान गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिईरहेको छ । सुत्केरी महिला बाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा लिने गरिएको छ । त्यसमा पनि आर्थिक अवस्था र बिरामीको प्रकृती हेरि छुट दिने गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । गाउँपालिकाका सबै ठाउँबाट जिल्ला अस्पतालमा आउन र घर फिर्ता जान गर्भवती र सुत्केरी महिलाहरुले पैसा तिर्नुपर्दैन् । जिल्ला बाहिरको हकमा भने आर्थिक अवस्था हेरर निर्णय गर्ने गरिएको गाउँपालिका अध्यक्ष रेग्मीको भनाई छ ।  

गाउँपालिकामा हाल प्रदेश सरकारबाट प्राप्त एक एम्बुलेन्स र एक शव वाहन रहेका छन । गाउँपालिकाले शव वाहनलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएको छ । मृतक भन्दा गाउँपालिकामा विभिन्न प्रकृतिका बिरामीको चाप बढेपछि शव वाहनलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले साउन महिनामा दुई सुत्केरीको एम्बुलेन्स मार्फत निःशुल्क उद्धार गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update