Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिका अध्यक्ष उपाध्यक्षद्धारा पहिरो प्रभावित क्षेत्रको अनुगमन

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउलेले पहिरो प्रभावित क्षेत्र खोपिचारको अनुगमन गर्नुभएको छ । सिस्ने ६ को खोपिचार स्थित स्याउली बजारमा बस्ती माथिबाट आएको पहिरोले गाउँ नै जोखिममा पारेको छ ।

बस्तीमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक संचरना निर्माण र राहत वितरण गर्न स्थलगत अनुगमन गरिएको गाउँपालिका रेग्मीले बताउनुभयो । गत साउन २० गते अविरल वर्षाका कारण बस्ती माथिबाट पहिरो आएको स्थानिय लालप्रसाद बुढा मगरले बताउनुभयो । रातको समयमा ढुङगा माटो र पानी संगै आएको पहिरोले समस्या बनाएको बुढाले बताउनुभयो ।  अन्यत्र बस्ने ठाउँ नभएका समस्या भइरहेको अर्का पीडित चंखबहादुर बुढाले बताउनुभयो ।  

पहिरोले स्याउली बजारमा स्थानियले निर्माण गरेको प्रतिक्षालय, मध्यहाडी लोकमार्गको सडक र दुई वटा पानी घट्टमा पनि क्षति गरेको छ । गाउँमा ल्याएको खानेपानीको पाइप पनि बगाएको स्थानीय इन्द्रबहादुर खड्काले बताउनुभयो । बस्ती भन्दा माथि खनिएका दुई छुट्टाछुट्टै ग्रामिण सडकका कारण भलसंगै बाढी आउने गरेको स्थानीयले बताएका छन ।

वर्षा हुनासाथ आउने बाढी, द्धारे र कुरखोलाबाट वेगमा झर्ने खोलाको बस्ती कटान गर्दै लगेको छ । खोलाको कटानले मध्यपहाडि सडक देखि तलका बस्ती उच्च जोखिममा छन । यस्तै माथिबाट आएको पहिरो र खोलाको कटानले खोपिचार खोलामा निर्माण गरिएको पक्की पुल पनि जोखिममा परेको छ । बाढी र पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष रेग्मीले तत्काल राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु् भएको छ ।

स्थानीय सरकारले मापदण्डमा भए बमोजिम तपाइहरुलाई राहत प्रदान गर्छ अध्यक्ष रेग्मीले भन्नुभयो क्षति गरेका संरचना निर्माणमा पनि हाम्रो पहल कदमी हुनेछ । बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माण गर्ने उपाध्यक्ष रेउलेले प्रतिवद्धता जनाउनु भएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमनमा गाउँपालिकाका प्रशासकीय अधिकृत चिन्तामणि दाहाल र इन्जिनियर करण खड्का पनि पुग्नु भएको थियो । बुधबार मात्रै गाउँपालिकाले विपद प्रभावितका लागि राहत प्याकेजको घोषणा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update