Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी, १६लाख राजस्व
डिभिजन वन कार्यालय रुकुमपूर्व ।

गत आर्थिक वर्ष २०७८/०७९ मा रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी भएको छ । गएको एक आर्थिक वर्षमा जिल्लाबाट ७० हजार किलो जडीबुटी निकासी भएको हो ।

जिल्लामा विभिन्न २५ प्रजातिका ८१ हजार किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ७० हजार किलोको छुटपुर्जी काटिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । उक्त जडीबुटी निकासीबाट डिभिजन वन कार्यालयले १६ लाख २३ हजार नौ सय ३५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उहाँका अनुसार सङ्कलन भएको ११ हजार किलो जडीबुटी भने जिल्लामै रहेको छ । जिल्लामा सेतकचिनी, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, यार्सा, पावन बोक्रा, पाखनबेद, रिठ्ठा, टिमुर, चिराइतो, कुरिलो, कुट्की, सोमायो, तेजपात, पाँचऔँले लगायत जडीबुटी पाइने गरेको खड्काले बताउनुभयो । 

अघिल्लो आर्थिक वर्षमा एक लाख किलो भन्दा बढी जडीबुटी सङ्कलन भएको थियो । यो वर्ष यार्सा अत्यन्त कम सङ्कलन भएको कार्यालयले जनाएको छ । अगाडिका वर्षहरूमा १७ किलो देखि माथिको यार्सा सङ्कलन हुने गरेकोमा यस वर्ष पाँच किलो मात्र सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

जिल्लाका सबै स्थानीय तहमा विभिन्न प्रकारका जडीबुटी पाइने गरेको छ । सबैभन्दा बढी जडीबुटी भने पुथाउत्तरगङ्गा गाउँपालिकाबाट सङ्कलन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा जडीबुटी खेतीलाई पनि जोड दिइएको खड्काले जानकारी दिनुभयो । टिमुर र  सेतकचिनीबाट जिल्लाका कृषकलाई जडीबुटी खेती तर्फ जोड दिइएको छ ।

जडीबुटी खेती गर्ने कृषकलाई कार्यालयबाट सत प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराइ राखिएको खड्काले बताउनुभयो । टिमुर र सेतकचिनी बाहेकका अन्य जडीबुटी खेतीका लागि पनि जिल्लाका विभिन्न ठाउँको पहिचान समेत भइसकेको कार्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update