नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पालिकास्तरमा पनि माक्र्सवादी स्कुलिङ संचालन गर्ने भएको छ । केही समय अघि जिल्ला स्तरीय स्कुलिङ चलाएको माओवादीले जिल्लाका ६ वटै पालिकामा ३ दिने आधारभूत माक्र्सवादी स्कुलिङ संचालन गर्ने भएको हो ।
आज जिल्लामा उपलब्ध पार्टीका केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार तथा पालिका समितिका इन्चार्ज, अध्यक्षहरुको बैठक बसी पालिका स्तरमा स्कुलिङ संचालन गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो ।
बैठकबाट स्कुलिङका लागि प्रशिक्षण टिम र कार्यक्रम मिति पनि तय गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकामा भदौ ६, ७ र ८ गते स्कुलिङ चल्ने छ । जसको प्रशिक्षक टिममा वसन्त शर्मा, धर्मबहादुर केसी र धनबिर ओली रहनुभएको छ ।
आठबीसकोट नगरपालिकामा भदौ ९, १० र ११ गते चल्ने स्कुलिङको पनि प्रशिक्षण टिममा सानीभेरी गाउँपालिकामै खटिने टिम छ । महेन्द्र केसी, नरबहादुर पुन र मोहनकिशोर ओली सम्मिलित टोलीले मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा प्रशिक्षण दिने छ ।
मुसीकोटमा भदौ ६, ७ र ८ गते तथा बाँफिकोटमा ९, १० र ११ गते स्कुलिङ संचालन गर्ने गरी तालिका बनाईएको छ । त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा गोविन्द रोका, झक्कुप्रसाद घर्ती र जनक बटालाको टिम खटिने छ । त्रिवेणीमा भदौ ६–८ स्कुलिङ चल्दा चौरजहारीमा भदौ ९–११ सम्म चल्ने छ ।
पालिकास्तरीय स्कुलिङमा पालिका समिति सदस्य, वडा समितिका पदाधिकारी, टोल समितिका पदाधिकारी, जवस मोर्चाका पदाधिकारी सहभागि हुन पाउने जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो । स्कुलिङमा सहभागिलाई लिखित परीक्षा संचालन गरिनुका साथै प्रमाणपत्रको व्यवस्था गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।