Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ५–११ वर्षका २३ हजार बालबालिकाले फाईजर खोप पाउँदै  

रुकुम पश्चिममा पनि ५–११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम संचालन हुँदै छ । भदौ ५ गते आईतबार देखि जिल्लाभरमा रहेका ५–११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड विरुद्धको फाईजर खोप अभियान संचालन हुन लागेको हो । 

जिल्लाका करिब २३ हजार बालबालिकाहरुले कोभिड विरुद्धको खोप पाउने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ३ सय २५ वटा विद्यालयमा खोप अभियान संचालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । केही विद्यालय वाहेक जिल्लाका अधिकांश विद्यालयहरुमा खोप कार्यक्रम संचालन हुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा भदौ ५ गतेदेखि खोपको पहिलो मात्रा लगाउन सुरु हुने र पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु हुने छ । पहिलो पटक ५–११ वर्ष उमेरका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउन लागिएको हो । यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ । 

खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा एकैपटक खोप कार्यक्रम संचालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

यसअघि नेपालका २७ वटा जिल्लामा ५–११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाईएको थियो । अहिले बाँकी ५० वटा जिल्लामा खोप अभियान संचालन हुने लागेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update