रुकुम पश्चिममा परम्परागत रुपमा लाग्दै आएको लाखे जात्रा आज सकिदै छ । जनै पूर्णिमाको दिन देखि औपचारिक रुपमा सुरु हुने यो जात्रा श्रीकृष्ण जन्माष्टमीको भोली पल्टसम्म चल्ने गर्दछ । कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णाष्टमीको भोलीपल्ट कंसलाई नै मारेर समापन गर्ने गरिन्छ । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन आज सदरमुकाम खलंगामा मेला लाग्छ ।
खलंगाको बहराटाकुरामा मेला लाग्ने गर्दछ । जात्रा सुरु भएदेखि खलंगा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिएकामा आज भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर यो जात्राको औपचारिक समापन गर्ने गरिन्छ । द्धापरयुगको अन्त्यतिर वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउदैं आएको लाखे नाच संरक्षण समितिले जनाएको छ ।
भगवान कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ । कंसलाई मार्नु अघि श्रीकृष्ण सहित राक्षसको स्वरुपमा वनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउँदै वजार परिक्रममा गराईन्छ ।