रुकुम पूर्वको पर्यटकीय स्थल कमलदह सरसफाईको ६२ हप्ता पूरा भएको छ । स्थानीयले प्रत्येक शनिवार कमलदहको सरसफाइ गर्दै आएका छन । विगतका शनिवार जस्तै आजको शनिबार पनि कमलदह सरसफाइ गरिएको छ ।
कमलदह सरसफाइका लागि स्थानीय युवाको साथमा शिक्षक, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी पुग्ने गरेको कमलदह सरसफाइ अभियानका अभियान्ता मदन शाहले जानकारी दिनुभयो । कमलदह सरसफाइ हरेक हप्ता अनिवार्य गरिए पनि उपस्तिथि भने अनिवार्य नगरिएको शाहले बताउनुभयो ।
‘हामीले प्रत्येक शुक्रबार सरसफाइ सम्बन्धी जानकारी दिन्छौं अभियानता शाहले भन्नुभयो–स्थानीय आँफै पुग्छन्, कोही सूचनाको आधारमा आउनुहुन्छ ।’ पछिल्लो समय सरसफाइ अभियान बृहत् हुँदै गएको छ । ‘स्थानीय स्वः स्फूर्त रुपमा उपस्थित हुन्छाै, अन्य पेसामा आवद्ध हुनुभएका पनि आउनुहुन्छ, यसले कमलदह सरसफाइलाइ बृहत् बनाउदै लगेको छ, उहाँले भन्नुभयो ।’
६२ औं हप्तामा आज दह वरिपरि लगाइएका फलफूलका बिरुवालाई पोषण दिइएको छ । सिस्ने गाउँपालिकाको सहयोगमा प्राप्त भएका ५० प्याकेट पोषण मल फलफूलका बिरुवामा राखिएको छ । कमलदह परिसरमा लगाइएका फलफूल र अन्य बिरुवाको वृद्धि विकासका लागि पोषण मल उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
‘दहको संरक्षण र प्रववद्र्धन गर्नु हामी सबैको दायित्व हो रेग्मीले भन्नुभयो–दहको अस्तित्व जोगाउन स्थानीय सरकार प्रतिबद्ध छ ।’ यो हप्ता दह परिसरमा लगाइएका विभिन्न प्रजातिका विरुवामा र दुबोमा मल राख्नुका साथै गोडमेल पनि गरिएको छ । दहलाई आकर्षक बनाउन प्रवेशद्वार अघि बगैचा र दह वरपरको सबै क्षेत्रमा पाँच सय भन्दा बढि बिरुवा रोपिएको छ ।
जसले कमलदहलाई आकर्षक बनाउँदै लगेको गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । कमलदह हेर्न र रुकुमकोट घुम्न पोखरा, पर्वत, बाग्लुङ, रोल्पा, दाङ, सल्यान, रुकुम पश्चिम र जाजरकोटबाट आन्तरिक पर्यटक आउने गरेका छन । अन्य समय भन्दा बिदाको दिन रुकुमकोट घुम्न र कमलदह हेर्न आउनेको संख्या बाक्लो हुने गरेको छ ।
कमलदहलाई बाह्रै महिना सुन्दर राख्ने र घुम्न आउने पर्यटकलाई धेरै समय टिकाउने उदेश्यले सकारात्मक सोच र सहकार्यका लागि युवा समूह नाम दिइएको अभियान टोलीले प्रत्यक शनिबार दहको सरसफाइ गर्दै आइरहेको छ ।