Kakhara सबैको खबर सम्पूर्ण खबर
समाज रूपान्तरणका लागि नयाँ पुस्ताको आवश्यकः इञ्चार्ज ओली 
अखिल क्रान्तिकारी रुकुमपूर्वको बैठकलाई सम्बोधन गर्नु हुँदै इञ्चार्ज ओली ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इञ्चार्ज तेजबहादुर ओली (प्रतिक)ले समाज रूपान्तरणका लागि नयाँ पुस्ताको आवश्यक रहेको बताउनु भएको छ ।  अखिल (क्रान्तिकारी) रुकुमपूर्वले भूमे गाउँपालिकाको केन्द्र खाबाङबगरमा आयोजना गरेको विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियानको उद्घाटन कार्यक्रम तथा चौथो बैठकमा प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनुभएको हो । 

१० वर्षे जनयुद्ध देखि देशमा आमुल परिवर्तन आउनुमा मुख्य हात युवा तथा नयाँ पुस्ताकै अहम भुमिका रहेको उल्लेख गर्दै ओलीले भन्नुभयो –‘त्यस कारण समय सान्दर्भिक अनुसार अहिले पनि समाज रूपान्तरणका लागि नयाँ पुस्ताको आवश्यक रहेको छ ।’ त्यसै अनुसार अहिले पार्टी नेतृत्वसँग पनि नयाँ युवा पुस्तालाई पार्टीको जिम्मेवारीमा ल्याउनु पर्ने छलफल चलिराखेको ओलीले बताउनुभयो । 

एउटै संगठनमा बाबु छोरा रहने स्थिति रहेसम्म जुनसुकै आन्दोलनले पनि गति लिन नसक्ने बताउनुभएको छ । उहाँले राज्यले लगानी बढाएर नीजि विद्यालय भन्दा सरकारी विद्यालय अब्बल बनाउने प्रतिस्पर्धामा लैजानु पर्ने इञ्चार्ज ओलीले बताउनुभयो । यसका लागि अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनको दवाव चाहिएको बताउनुभएको छ । यसका लागि नै विद्यालयमा संगठन बनाएर अखिल क्रान्तिकारीले शैक्षिक सुधारका लागि सम्बन्धित सरोकारवाला निकाय सराकासँग हरेका कुरामा प्रत्येक्ष वार्ता गर्ने र त्यतिले पनि नपुगे आन्दोलन र तालाबन्दी गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो ।

हिजोको जनयुद्धको जनवर्गीय संगठन भन्दा अहिलेको पार्टीको जनवर्गीय संगठनले गति लिन नसकेको पनि ओलीले स्वीकार्नुभयो । तर नेविसंघ, अनेरास्वयू जस्ता अन्य दलका विद्यार्थी संगठन जस्तो अराजक तथा मनपरी तन्त्र अखिल क्रान्तिकारीको संगठन नभएको बताउनुभएको छ । यस संगठनमा विधि प्रक्रिया र अनुसासन र वैज्ञानिक विचार भएकाले पनि सबैलाई अखिल क्रान्तिकारी संगठनमा आवद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । 

यस्तै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा रुकुमपूर्व जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले हिजोको एकतन्त्रिय शासन प्रणाली ढाल्नका लागि आफूहरुले चलाएका विद्यार्थी आन्दोलनको स्मरण गर्नुभएको छ । अहिलेका विद्यार्थीहरु नयाँ नयाँ ज्ञान सीप र प्रविधिलाई पञ्छ्याउनुपर्ने र गाउँ समाजमा परम्परागत शैली नैकायम रहेको हुनाले अहिलेसम्म पनि प्रशासनिक क्षेत्रमा माथि उठ्न नसकेको र अवको अखिल क्रान्तिकारीको विद्यार्थीहरुको अभियान त्यसमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । उहाँले थप्दै भन्नुभयो किताबी किरोमा मात्रै भन्दा पनि बाह्य ज्ञानहरु पनि हासिल गरी समाज, परिवेशलाई अध्ययन गरी अतिरिक्त क्रियाकलापमा पनि अग्रसर हुनका लागि अनुरोध गर्नुभएको छ । 


यस्तै नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक होमप्रकाश श्रेष्ठले समाज रूपान्तरणका ठूलठूला आन्दोलनहरुमा हिजोका दिनदेखि महत्वपूर्ण योगदान रहदै आएको बताउनुभएको छ । श्रेष्ठले आजको शासन पद्धतिमा प्रशिक्षित भई प्रशासनिक तथा राजनैतिक क्षेत्रको नेतृत्व गर्न अखिल क्रान्तिकारीका विद्यार्थी कुशलताका साथ तयारी हुनु पर्ने अनुरोध गर्नुभएको छ । 


यस्तै कुशल व्यक्तित्व विकासका लागि विद्यार्थी संगठनबाट लगनशील भएर लाग्नु पर्ने अनेरास्ववियु क्रान्तिकारीका जिल्ला फ्याक्सन इञ्चार्ज जीवन केसी बताउनुभयो । अनेरास्ववियु क्रान्तिकारीका जिल्ला समितिलाई प्रशिक्षण मन्तव्य राख्ने क्रममा केसीले यस्तो बताउनु भएको हो । हाल सम्म विभिन्न राजनैतिक दलमा आवद्ध हुनु भएका नेतागणहरू राजनैतिकको सुरुवाती विद्यार्थी संगठनबाट आउनु भएको स्मरण गराउँदै केसीले भन्नुभयो –‘त्यस कारण विद्यार्थी संगठनबाटै लगनशील भएर लाग्नु आवश्यक छ ।’  

कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश उपाध्यक्ष रुपेन्द्र मल्ल, जिल्ला अध्यक्ष रेवन खड्का लगायतले पनि प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update