Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजार भित्रको बाटो ‘धमाधम’ ढलान
खलंगाकाे तल्लाे बजारमा ढलान गरिएकाे बाटाे ।

लामो समय देखि रोकिएको खलंगा बजार भित्रको बाटो स्तरोन्नतिको काम सुरु भएको छ । लामो समय देखि काम रोकिदा बजार क्षेत्र अस्तव्यस्त बनेको थियो । ढुंगा विच्छ्याएर राखिएको लामो समयसम्म ढलान नहुँदा बजारवासी तथा अन्य नागरिकहरुले सास्ती भोग्दै आएका थिए । अहिले भने बाटोमा धमाधम ढलानको काम भइरहेको छ । कुल साढे ७ सय मिटर लम्बाई रहेको बाटो मध्ये अव १ सय ७० मिटर जति बाटो मात्र ढलान हुन बाँकी रहेको ठेकेदार कम्पनी यति विल्डर्स कोशी न्यौपाने जेविका प्रतिनिधी कमल बुढामगरले जानकारी दिनुभयो । अहिले तल्लो बजार क्षेत्रमा बाटो ढलान भइरहेको छ ।

अव तल्लो बजारको साझा अस्पताल देखि पुष्पलाल चोक सम्म र बालमन्दिर देखि कालिकास्थान सम्मको बाटो ढलान हुन बाँकी रहेको छ । फागुन २० गतेभित्रै काम सकिने बुढाले दाबी गर्नुभयो । धमाधम काम भइरहेको र अव धेरै दिन नलाग्ने उहाँको भनाई छ । बाटोको स्टामेट परिवर्तन गर्नुपर्दा ढिलाई भएको उहाँले बताउनुभयो । ‘सुरुमा पार्किङ टायल विच्छ्याउने गरी स्टामेट तयार भएको र पछि बजारवासीको आग्रहमा वडा कार्यालय मार्फत सर्वपक्षिय निर्णय गरेर स्टामेट परिवर्तन गर्नका लागि सुर्खेत लेखि पठाएकामा स्टामेट परिवर्तन हुन समय लागेकाले लामो समय काम रोक्नुपरेको हो, उहाँले भन्नुभयो ।’

वडा कार्यालयले सिफारिस गरी पठाए अनुसार पार्किङ टायलको साटो आरसिसी ढलान गर्ने स्टामेट पास भएपछि काम सुरु भएको उहाँले बताउनुभयो । बाटो ढलानको काम सुरु भएपछि बजारवासी हर्षित बनेका छन् । यो बाटो स्तरोन्नतिको काम अघिल्लो वर्षको असोजमै सकिनु पर्ने थियो । बजार क्षेत्रको सडक स्तरोन्नतिका लागि पौने तीन करोड खर्च भईरहेको छ । सुरुमा सहरी विकास कार्यालय रोल्पाबाट भ्याट सहित २ करोड ७१ लाख बजेट आएको थियो । तर यो आयोजनालाई हाल सघन सहरी विकास कार्यक्रम, संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले हेरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update