Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका तीन पालिकामा आधारभूत माक्र्सवादी स्कुलिङ सुरु
300581393_5746922738651537_6603206951516973152_n.jpg

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको पालिका स्तरीय आधारभूत माक्र्सवादी स्कुलिङ सुरु भएको छ । माओवादीले प्रत्यक पालिकामा ३ दिने आधारभूत माक्र्सवादी स्कुलिङको आयोजना गरेको छ । २ चरणमा जिल्लाका सबै स्थानीय तहमा स्कुलिङ संचालन गर्ने निर्णय अनुसार आज जिल्लाका तीन पालिकामा स्कुलिङ सुरु भएको माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज जिल्लाका मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा स्कुलिङ सुरु भएको हो । यि पालिकामा भाद्र ८ गतेसम्म स्कुलिङ संचालन हुने छ । त्यसपछि भाद्र ९–११ गतेसम्म बाँकी रहेका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा स्कुलिङ संचालन हुने संयोजक रोकाले बताउनुभयो । 

उहाँका अनुसार ६ वटा पालिकामा स्कुलिङका लागि तीन वटा प्रशिक्षक टिम परिचालन गरिएको छ । तीन÷तीन जनाको टिम बनाइएकामा एउटा टिमलाई २ वटा पालिकाको जिम्मा दिइएको छ ।
 
आज स्कुलिङ सुरु भएका मध्य मुसीकोट नगरपालिकामा महेन्द्र केसी, नरबहादुर पुन र नरबहादुर केसीको टिम खटिएको छ । यो टिमले बाँफिकोट गाउँपालिकामा पनि स्कुलिङ चलाउने छ । त्रिवेणी गाउँपालिकामा गोविन्द रोका, झक्कुप्रसाद घर्ती र जनक बटालाको टिम छ । यो टिम चौरजहारी नगरपालिकामा पनि खटिने नेकपा माओवादी केन्द्रले जनाएको छ । 

त्यस्तै सानीभेरी गाउँपालिकामा खटिएको वसन्तकुमार शर्मा, धर्मबहादुर केसी र धनविर ओलीको टिमले आठबीसकोट नगरपालिकालाई पनि हेर्ने छ । माओवादी केन्द्रले केही समय अगाडि जिल्ला स्तरीय स्कुलिङ संचालन गरेको थियो । तल्लो तहमा पनि स्कुलिङको आवश्यकता देखिएको र माग समेत भएपछि पालिका स्तरमा पनि स्कुलिङ संचालन गर्ने निर्णय भएको जिल्ला संयोजक रोकाले बताउनुभयो । 

पालिकास्तरीय स्कुलिङमा पालिका समिति सदस्य, वडा समितिका पदाधिकारी, टोल समितिका पदाधिकारी, जवस मोर्चाका पदाधिकारी सहभागि छन् । स्कुलिङमा सहभागिहरुका लागि लिखित परीक्षा संचालन गरिनुका साथै प्रमाणपत्रको समेत व्यवस्था गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update