नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याब्सन रुकुम पश्चिमले आयोजना गरेको लोक नृत्य प्रतियोगितामा मुसीकोटको न्यु मुन लाइट बोर्डिङ स्कुल प्रथम भएको छ । जिल्ला भित्र रहेका विभिन्न नीजि विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्म अध्यनरत विद्यार्थीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा मुसीकोट ५ शेरिगाउँमा रहेको न्यु मुन लाईट बोर्डिङ स्कुलका विद्यार्थी प्रथम भएका हुन् ।
मुसीकोटमै रहेको विजयश्वरी बोर्डिङ स्कुल द्धितिय भएको छ । त्यस्तै सिस्ने एकेडेमिले बोर्डिङ स्कुलले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगिताको प्रथमले ५ हजार, दोस्रोले ४ हजार र तेस्रोले हुनेले ३ हजार नगद सहित प्रमाण–पत्र प्राप्त गरेको प्याब्सनका जिल्ला उपाध्यक्ष हरिभक्त भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश स्तरीय प्रतियोगिताको तयारी स्वरुप जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम भएको न्यु मुन लाईट बोर्डिङ स्कुलले भदौ १८ गते हुने कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने छ । प्रदेशमा प्रथम हुनेले गण्डकी प्रदेशको पोखरामा हुने केन्द्रीय प्रतियोगितामा भाग लिन पाउने बताईएको छ ।
प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष खड्क कँवर र केन्द्रीय सदस्य जयबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम मुसीकोट खलंगामा भएको थियो ।