विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुम पश्चिममा पनि परेको छ । बिहानै देखि सार्वजनिक तथा नीजि सवारी साधन चलेका छैनन् भने बजार आंशिक रुपमा बन्द छन् । त्यस्तै सामुदायिक तथा संस्थागत विद्यालयहरु पनि बन्द छन् ।
जिल्ला सदरमुकाम मुसीकोट खलंगा सहित अन्य बजारमा बिहानै देखि चहलपहल कम छ । केही पसलहरु भने खुला छन् । बजारमा बन्दकर्ताहरु भने देखिएका छैनन् । बन्दलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाईएको छ । जिल्ला सदरमुकामका मुख्य बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती सामान्य अवस्थाको तुलनामा बढाईएको छ ।
जिल्लाको अवस्था शान्त रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । जिल्लामा शान्ति सुरक्षामा खलल पुर्याउने कुनैपनि गतिविधिहरु नभएको उहाँको भनाई छ ।
एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरिएको ४ पार्टीले जनाएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपा विच भएको तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको बिरोधमा पनि बन्द आह्वान गरिएको बताईएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।