रुकुम पश्चिमका पाँच वटा स्थानीय तह राजस्वको लक्ष पुरा गर्न असफल भएका छन् । वितेको आर्थिक वर्ष २०७८/०७९ मा ६ मध्य पाँच वटा स्थानीय तहले राजस्वको लक्ष भेटाउन नसकेका हुन् । बाँफिकोट गाउँपालिकाले मात्र राजस्वको लक्ष पुरा गर्न सक्यो ।
गाउँपालिकाले ३५ लाखको लक्ष लिएकामा ५३ लाख ७७ हजार ४ सय १ रुपैंयो संकलन गरेको छ । गाउँपालिकाले लक्ष भन्दा १८ लाख ७७ हजार ४ सय १ रुपैंया बढी उठाएको हो । समग्रमा जिल्लामा सबैभन्दा कम राजस्व उठाएपनि गाउँपालिकाले आफुले लिएको लक्ष भने पुरा गर्न सफल भयो ।
जिल्लाको आठबीसकोट नगरपालिकाले पहिलो पटक लक्ष अनुसार राजस्व उठाउन सकेन् । लगातार ४ वर्ष राजस्वको लक्ष पुरा गरेको आठबीसकोटले ३ करोड ८५ लाखको लक्ष लिएकामा झण्डै ३ करोड राजस्व उठाउन सक्यो । नगरपालिकाले १ वर्षभरीमा २ करोेड ९७ लाख रुपैंया राजस्व स्वरुप उठाएको जनाएको छ ।
यद्धपि लक्ष पुरा गर्न नसकेपनि आठबीसकोट जिल्लामा सबैभन्दा बढी राजस्व उठाउने पालिका हो । जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाले पनि राजस्वको लक्ष पुरा गर्न सकेन् । ४७ लाख वेरुजु असुल गर्दा पनि ३ करोडको लक्ष पुरा हुन नसकेको हो । नगरपालिकाले २ करोड २४ लाख ४५ हजार ८ सय ६३ रुपैंया मात्र उठाउन सक्यो ।
चौरजहारी नगरपालिकाले १ करोड ८० लाख राजस्व उठाएको छ । चौरजहारीले २ करोड ४० लाखको लक्ष लिएको थियो । नगरपालिकाले लक्ष भन्दा ६० लाख कम राजस्व उठायो । त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका पनि लक्ष अनुसार राजस्व उठान नसक्ने पालिकाको सुचिमा परेका छन् ।
१ करोड ७५ लाखको लक्ष लिएको सानीभेरीले ९३ लाख ५१ हजार ६ सय ३९ र १ करोडको लक्ष लिएको त्रिवेणीले ६७ लाख ६९ हजार ६ सय ७७ रुपैंया राजस्व असुल गरेको छ । विभिन्न कारणले राजश्वको लक्ष पुरा हुन नसकेको स्थानीय तहको भनाई छ ।
आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले कन्टेन्जेन्सी वाफतको रकम आन्तरिक आम्दानीमा राख्न नपाउँदा राजस्वको लक्ष पुरा हुन नसकेको बताउनुभयो । सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले ठूलो लक्ष लिईएका कारण पुरा हुन नसकेको बताउनुभयो ।