वितेको आर्थिक वर्ष रुकुम पश्चिमबाट झण्डै ३० करोड मुल्य बराबरका खसि बोका जिल्ला बाहिर निर्यात गरिएको छ । वर्षभरीमा १४ हजार ८ सय ७३ वटा खसि बोका निर्यात भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त खसि बोका निर्यातबाट २९ करोड ७४ लाख ६० हजार रुपैंया जिल्ला भित्रिएको छ । खसि बोका निर्यातबाट यो भन्दा ठूलो रकम भित्रिएको हुन सक्ने उहाँले बताउनुभयो । ‘यो त सिफारिस लिएर निर्यात गरेको रेकर्ड मात्र हो, रेकर्डमा नरहेर ठूलो कारोबार भएको हुनसक्छ, उहाँले भन्नुभयो ।’
जिल्लाबाट निर्यात भएर खसि बोका दाङ, पोखरा र काठमाडौं लगायतका ठाउँमा जाने गरेका छन् । जिल्लालाई पुगेर नै जिल्ला बाहिर निर्यात भइरहेको कायालय प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार मासुमा जिल्ला आत्मनिर्भर छ ।
जिल्लामा व्यवसायिक बाख्रा पालन बढ्दै गएपछि निर्यात पनि वर्षेनि बढ्दो क्रममा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयले अनुदानमा विभिन्न उन्नत जातका बाख्रा वितरण गरिरहेको छ ।