Kakhara सबैको खबर सम्पूर्ण खबर
२० वर्षपछि फर्किएको खुसी 
विद्यार्थीलाई पढाउँदै बिसी ।

माओवादी ‘जनयुद्ध’लाई सहयोग गरेको भन्दै निरन्तर दवाव र निगरानीमा परेपछि ओमप्रकाश बिसीले शिक्षक पेसाबाट राजिनामा दिनुपर्यो । २०६० सालको कुरा हो । साविकको रुकुम जिल्लाको रुघा गाविस तथा हालको रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १ दाङचुङका ओमप्रकाश बिसी दिव्य चक्षु मावि रुघामा प्रावि द्धितिय श्रेणिको शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । २०३७ सालबाट उक्त विद्यालयमा निरन्तर कार्यरत उहाँले २०६० सालमा बाध्य भएर राजिनामा दिनुपर्यो । तत्कालिन नेकपा माओवादीले संचालन गरेको ‘जनयुद्ध’लाई सहयोग गरेको भन्दै राज्य पक्षले निरन्तर दबाव दिन थालेपछि र निगरानीमा राखेपछि बाध्य भएर राजिनामा दिनुपरेको बिसीले स्मरण गर्नुभयो ।

घर देखि विद्यालयसम्म निरन्तर निगरानीमा परेपछि अध्यापन गराउन नसकिने निष्कर्षका साथ राजिनामा दिनुपरेको नमिठो पल उहाँलाई अझै पनि अहिलेजस्तै लाग्छ । ज्यान समेत जोखिममा रहेको महशुस हुन थालेपछि बाध्य हुँदै २०६० सालको साउन १२ गते राजिनामा दिएको उहाँले सुनाउनुभयो । ‘जनयुद्ध’का कारण उहाँले जागिर गुमाउनु पर्यो । २० वर्ष विद्यालय बाहिर रहेका बिसी पुनः विद्यालय हाँजिर हुनु भएको छ । जागिर गुमाएको २ दशकपछि पुनर्बहाली भएपछि उहाँ हर्षित हुनुहुन्छ । सरकारले द्धन्दकालमा जागिर गुमाएका शिक्षकहरुलाई भाद्र १ गतेबाट पुनर्बहाली गर्ने निर्णय गरेसंगै हालको रुकुम पश्चिमका ५ जना पुनः शिक्षण पेसामा फर्किएका छन् । त्यसमध्य एक हुनुहुन्छ बिसी ।

Teacher 21661494659.jpg
विद्यार्थीलाई पढाउँदै बिसी ।

बाध्यताले गुमाउनुपरेको जागिरमा पुन फर्किन पाउँदा सम्मानको महशुस भएको उहाँको भनाई छ । उहाँ त्रिवेणि गाउँपालिका वडा नम्बर १ दाङचुङको कालिका आधारभूत विद्यालयमा हाँजिर हुनुभएको छ । ‘विषम परिस्थितिका कारण जागिरबाट राजिनामा दिएको थिएँ, त्यो कुनै रहर थिएन्, कतै न कतै अमानित महशुस हुने गरेको थियो उहाँले भन्नुभयो–तर जागिर सकिन केही समय बाँकी रहेको अवस्थामा भएपनि पुनर्बहाली भएपछि गौरव र सम्मानको महशुस भएको छ ।’ झण्डै २० वर्षपछि विद्यालय फर्किदा सपना जस्तो लागेको पनि उहाँले सुनाउनुभयो ।

जिल्लामा पुनर्बहाली हुने अन्य शिक्षकमा जीतबहादुर शाह, रामकुमार बुढामगर, मधुसुधन अधिकारी र नरबहादुर खड्का रहनुभएकाे छ । शाह सानीभेरी गाउँपालिकाकाे दीप ज्याेतिआधारभूत विद्यालय चौखे, बुढामगरलाई बाँफिकाेट गाउँपालिकाकाे जनकल्याण मावि जिपू, अधिकारीलाई आठबीसकोट नगरपालिकाको सूर्योदय मावि होली र खड्कालाई आठबीसकोट नगरपालिकाको शाइकुमारी मावि रोकाजाखेतमा खटाईएको छ । सरकारको निर्णयसंगै जिल्लामा ५ शिक्षक पुनर्बहाली भएकामा उनिहरुलाई पालिकामा खटाईएको थियो । उक्त शिक्षकहरुलाई पालिकाले खाली भएको ठाउँमा खटाएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । 

बिसी शिक्षण पेसासंगै माओवादी आन्दोलनमा पनि सहभागि हुनुहुन्थ्यो । उहाँ २०५७ सालतिर माओवादी जनसत्ताको रुघा गाउँ सरकार प्रमुखको जिम्मेवारीमा हुनुहुथ्यो । उहाँले झण्डै १ वर्ष यो जिम्मेवारी पुरा गर्नुभयो । पछि निरन्तरको दबावपछि शिक्षण पेसा छाडेर उहाँ खुला राजनीतिमा आउनुभएको थियो । खुला राजनीतिमा आएपछि उहाँ २ वर्ष जेल समेत पर्नुपर्यो । २०६१ भाद्र ११ गते उहाँ नेपालगञ्जमा जेल पर्नुभयो । उहाँ शान्ति स्थापना भएपछि जेलमुक्त हुनुभयो । उहाँ पार्टीको जिल्ला समिति सदस्य पनि भन्नुभयो । अढाई वर्ष त्रिवेणी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष समेत बन्नुभयो । अहिले भने उहाँ पार्टीको कुनै जिम्मेवारीमा हुनुहुन्न । 

Teacher 11661494715.jpg
विद्यार्थीसंग बिसी ।

कार्यकाल सकिन ११ महिना बाँकी 
बिसी उमेरले ५९ पुग्नुभयो । उमेरहदका कारण उहाँले लामो समय शिक्षण पेसामा विताउने अवस्था छैन् । अव आफ्नो कार्यकाल साढे १० महिना जति बाँकी रहेको उहाँले बताउनुभयो । धेरै समय बाँकी नरहेकोले सकेको योगदान गर्ने योजना उहाँले बनाउनुभएको छ । ‘धेरै समय बाँकी छैन्, तर पनि बिदा हुनुअगाडी केही न केही काम गर्नुपर्छ भन्ने लागेको छ, उहाँले भन्नुभयो ।’

सरकारले अभिभावकको भुमिका खेल्यो 
द्धन्दका कारण जागिर गुमाएका शिक्षकलाई पुनर्बहाली गराउने सरकारको निर्णय स्वागत योग्य रहेको उहाँले बताउनुभयो । लामो समय शिक्षण पेसामा विताएको र युद्धका कारणले जागिर गुमाएर अन्यायमा परेका शिक्षकलाई पुनर्बहाली गराउने सरकारको निर्णयले राज्यको अभिभावकिय जिम्मेवारी झल्किएको बताउनुहुन्छ उहाँ । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update