जिल्लामा काम एकरूपता ल्याउनका लागि रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम गरिएको छ । गएको आर्थिक वर्षको जिल्ला स्तरीय समीक्षा तथा चालू आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको आयोजनामा बिहिबार र शुक्रबार गरी दुई दिन सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको सभाहलमा जिल्ला स्तरीय वार्षिक समीक्षा तथा चालू आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गरिएको प्रमुख जिल्ला अधिकरी तुलाराज सुनुवारले बताउनुभयो । सङ्घ, प्रदेश मातहतमा रहेको जिल्ला स्थित कार्यालय तथा गाउँपालिका र जिल्लामा रहेका संघसंस्थाका कार्यक्रम दोहोरो नभई एकरूपता ढंगले विकासका लागि लगानी होस् भन्ने उद्देश्यले जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम गरिएको प्रजिअ सुनुवारले बताउनुभयो । वार्षिक समीक्षा कार्यक्रमले जिल्लाका कार्यालयबाट विकास निर्माण कार्यक्रम एकआपसमा दोहोरो लगानी नहुने उहाँले बताउनुभयो ।
दुई दिन सम्म सञ्चालन भएको समीक्षा कार्यक्रममा जिल्ला स्थित २३ वटा कार्यालयले गत आर्थिक वर्षको वार्षिक समीक्षा तथा चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रमलाई सम्पन्न गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उक्त कार्यक्रमले विकेन्द्रीत बजेट तथा कार्यक्रमलाई केन्द्रीत भइ एक आसपमा सल्लाह, सुझाव अनुसार अघि बढ्नमा सजिलो बनाउने अपेक्षा लिइएको बताउनुभयो । नयाँ जिल्ला भएकाले विभिन्न समस्याका बिचबाट काम भइरहेको श्रेष्ठले बताउनुभयो । समस्याका भावजुटमै जिल्लाका विकास निर्माण तथा सेवा प्रवाहमा जिल्लाका नागरिकलाई खुसी बनाइ आफ्ना काममा जोड दिनु पर्ने प्रमुख श्रेष्ठले विभिन्न कार्यालयलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनैतिक दल र विभिन्न कार्यालय प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेकोमा कार्यक्रमको सहजिकरण सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले गर्नु भएको थियो ।