रुकुम पश्चिम मासुमा आत्मनिर्भर देखिएको छ । जिल्लाको माग अनुसार मासु जिल्लामै उत्पादन भइरहेको छ । जिल्लामा वर्षेनि मासु उत्पादन बढ्दो क्रममा रहेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको बितेको आर्थिक बर्ष २०७८/०७९ को तथ्याङ्क अनुसार जिल्लामा ५ दशमलव ७६ प्रतिशतले मासु बृद्धि भएको छ । उक्त वर्ष जिल्लामा २ हजार ३ सय ७९ दशमलव ७२ मेट्रिकटन मासु उत्पादन भएको छ । जिल्लालाई मासु पुगेर पनि जिल्ला बाहिर निर्यात हुने गरेको पशु पस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । जिल्लाबाट मासुका लागि खसी, बोको, कुखुरा र बंगुर जिल्ला बाहिर निर्यात भएका छन् ।
बितेको आर्थिक बर्षमा मात्रै १४ हजार ८ सय ७३ वटा खसी, बोका जिल्ला बाहिर निर्यात गरिएको छ । खसीबाट २९ करोड ७४ लाख ६० हजार जिल्ला भित्रिदा बंगुर ३ सय २६ वटा निर्यात हुँदा ११ लाख ४१ हजार रुपैंया किसानको हातमा परेको छ । त्यस्तै २ हजार १ सय ९७ वटा कुखुरा जिल्लाबाहिर पठाउँदा २१ लाख ९७ हजार जिल्ला आएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । व्यवसायिक पशु पालन र उन्नत जातका पशु पालनमा बृद्धि हुँदै गएकोले जिल्ला केही वर्ष देखि मासुमा आत्मनिर्भर रहेको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लामा अण्डा उत्पादन पनि बृद्धि भइरहेको छ । बितेको आर्थिक बर्ष जिल्लामा अण्डा उत्पादन ४ दशमलव ७ प्रतिशतले बृद्धि भएको छ । तर अझै जिल्ला अण्डामा भने आत्मनिर्भर बनिनसकेको प्रमुख शर्माले बताउनुभयो । जिल्लाले अण्डा निर्यात गरिरहेको छ । प्रमुख शर्माका अनुसार अण्डामा पनि जिल्लालाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ ।