Kakhara सबैको खबर सम्पूर्ण खबर
अभिमुखीकरण गोष्ठी सम्पन्न
अभिमुखीकरण गोष्ठीमा सहभागीहरु ।

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुम पश्चिमद्वारा सञ्चालित पोषण तथा जिविको पार्जन प्रवद्र्धनका लागि पर्यावरणीय कृषि परियोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । शुक्रबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माविको सभाहलमा परियोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको हो । 

मिक नेपालद्वारा सञ्चालित उक्त परियोजना सञ्चालनका लागि सहयोगी दातृ निकाय फास्टेन एक्सन स्वीजरल्याण्ड रहेको छ । यस परियोजनाको कार्य क्षेत्र सिस्ने गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेको परियोजनाका संयोजक बेगम खड्काले बताउनुभयो । परियोजनाको परिकल्पना समतामुलक सशक्त र आत्मनिर्भर समाजको स्थापना रहेको खड्काले बताउनुभयो । 

यस परियोजनाले खाद्य सुरक्षाको अवस्थाको तथ्याङ्क संकलन तथा विश्लेषण पनि गर्ने गरेको छ । गोष्ठीमा सार्वजनिक गरेको परियोजनाको प्रतिवेदन अनुसार सिस्ने १ र २ मा खाद्य सुरक्षाको अवस्था वर्ष भरी खाद्यान्न नपुग्ने वडा नम्बर १ मा ४ प्रतिशत, ६ महिना भन्दा माथि खाद्यान्न पुग्ने १६ प्रतिशत र ३ महिना देखि ६ महिना सम्म पुग्ने ८१ प्रतिशत रहेको उल्लेख गरिएको छ । 

यसैगरी सिस्ने २ मा वर्षभरी खाद्यान्न नपुग्नेको प्रतिशत ४, ६ महिना भन्दा माथि खाद्यान्न पुग्ने ७० र ३ महिना देखि ६ महिना सम्म खाद्य पुग्ने २६ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

समुदायलाई आत्मनिर्भरता बनाउनका लागि परियोजनाले योजना छनोटको निचोड निकालेको छ  । खाद्य अपर्याप्तता सुधार गर्न सकिने, फलफूल तथा तरकारी खेतीको पर्याप्त सम्भावना, जडिबुटी खेतीको प्रचुर सम्भावना, स्थानीय स्रोत साधन सिप तथा वस्तुको विस्तार, पर्यावरणीय कृषि प्रणाली सम्बन्धि प्राविधिक सल्लाह लगायतबाट स्थानीयलाई आत्म निर्भर बनाउन सकिने समेत परियोजनाले प्रतिवेदनमा उल्लेख गरेको छ । 

समुदायलाई आत्म निर्भर बनाउनका लागि स्वयम परियोजना र परियोजनाको सल्लाह, सुझावमा वडा र पालिकासँग समन्वयमा केही कार्यक्रम अघि सारिएको बताएको छ । गोष्ठी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार लगायत राजनैतिक दल एवं जिल्ला स्थित कार्यालयका प्रमुख एवं प्रतिनिधि उपस्थिति रहेकोमा कार्यक्रमको सहजिकरण मिक नेपालका कार्यकारी निर्देशक अभिनाश बुढा मगरले गर्नु भएको थियो । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update