Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वास्थ्य इकाइको नयाँ भवन निर्माण
अमलाचौर स्थित सामुदायिक स्वास्थ्य इकाइको नयाँ भवन ।

सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण भएको छ । सिस्ने गाउँपालिका ४, स्थित अमलाचौरमा सिस्ने गाउँपालिकाले ३७ लाख ३५ हजारमा सामुदायिक स्वास्थ्य भवन निर्माण गरेको हो । भवन निर्माणपछि भाडामा रहेको सामुदायिक स्वास्थ्यलाई आफ्नै भवनमा सारिएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालले भवनको उद्घाटन गर्नुभयो । ३ कोठाको उक्त भवनबाट शुक्रबारदेखि सेवा प्रवाह सुरु भएको छ । उक्त भवनसँगै एउटा शौचालय पनि निर्माण गरिएको छ ।

तीन वर्षदेखि अमलाचौरमा सामुदायिक स्वास्थ्य इकाइले सेवा प्रवाह गरिरहेको छ । भवन निर्माण भएपछि अब सेवा प्रवाहमा सहज हुने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । आधारभुत स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउन गाउँपालिकाले सकेसम्म प्रयास गरिरहेको अध्यक्ष बरालले बताउनुभयो । यो वर्ष मात्रै सिस्ने गाउँपालिकाले ७ नम्बर वडाको सान्चौर र ६ नम्बर वडाको ढकालबारामा भवन निर्माण गरेको छ ।

यि सबै ठाउँका स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको गाउँ कार्यपालिका प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो । गाउँपालिकाले १ नम्बर वडाको पाखापानी, २ नम्बर वडाको छिपखोला, ४ को अमलाचौर, ६ को ढकालबारा, खोपिचार, ७ को सान्चौर र ८ को भुरुंगामा सामुदायिक स्वास्थ्य इकाइ मार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको प्रवक्ता केसीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update