डिभिजन वन कार्यालय रुकुम पूर्वले वन, वातावरण, बन्यजन्तु संरक्षण सम्बन्धी सचेतनामूलक तिज कार्यक्रमको आयोजना गरेको छ । तिज गीत मार्फत वन, वातावरण र बन्यजन्तुको संरक्षणका लागि सचेतना फैलाउने उदे्श्यले कार्यालयले भाद्र १४ गते साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने डिभिजन वन कार्यालय रुकुम पूर्वका रेञ्जर विश्व केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा कलाकारहरु पूर्णचन्द्र परियार, सम्झना रणपाल, दिपक भण्डारी, मञ्जु भट्टराई, टंक संगित लगायतले प्रस्तुति राख्ने छन् ।
गीत तथा नाचका माध्यमबाट सूचना दिदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले वन संरक्षण सम्बन्धी सचेतना फैलाउन यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रमका संचालनका लागि कार्यालयलाई सिस्ने गाउँपालिका, जिल्ला प्रहरी कार्यालयको महिला सेल, सामुदायिक वन उपभोक्ता महासंघ, अमर छापाखाना लगायतले सहयोग गरेका छन् । कार्यक्रम जिल्ला प्रहरी कार्यालयको प्रांगणमा संचालन हुने बताइएको छ ।