Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडक्रस रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन उद्घाटन 
रेडक्रस रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमका अतिथिहरु ।

नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरिएको छ । शनिबार बिहान सिस्ने गाउँपालिका–५ स्थित बिएलबी होटलको सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्वको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरिएको हो । 

२०६५ साल देखि २०७४ साल सम्म रेडक्रस सोसाइटी रुकुमकोट उपशाखाको रूपमा रहेको थियो । पछि साविक रुकुम जिल्लालाई पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरेपछि जिल्लामा २०७५ साल लोकेन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । त्यसपछि २०७७ पुस महिनामा मोहनबहादुर केसीको संयोजकत्वमै तदर्थ समिति पुनः गठन गरिपछि हाल सम्म केसीकै नेतृत्वमा रहेको तदर्थ समितिले नियमित कामकाज गर्दै आएको थियो । 

शनिबार बिहान उद्घाटन भएको रेडक्रस रुकुमपूर्वको प्रथम अधिवेशन अहिले बन्द सत्र चलिरहेको छ । बन्द सत्रबाट नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाले पहिलो पटक कार्य समिति पाउने भएको हो । सभापति, दुई उपसभापति, मन्त्री, उपमन्त्री, कोषाध्यक्ष र उप कोषाध्यक्ष गरी ७ जनाको पदाधिकारी सहित १७ जनाको कार्य समिति बन्ने छ ।  

अधिवेशनको उद्घाटन कार्यक्रममा तदर्थ समितिका संयोजक मोहनबहादुर केसीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री लालप्रसाद पंगेनी, जिल्ला अधिवेशनका निर्वाचन अधिकृत गुमनराज तुलामीको विशेष आतिथ्यता रहेकोमा जिल्ला स्थित विभिन्न व्यक्तित्वहरूको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य तदर्थ समितिका मन्त्री लोकेन्द्रबहादुर बुढाथोकीले राख्नु भएकोमा कार्यक्रम सञ्चालन तदर्थ समितिका सदस्य भुपेन्द्र आचार्यले गर्नु भएको थियो ।  


 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update