एक वर्षको अवधिमा रुकुम पश्चिममा ७ वटा बेवारिसे शव फेला परेका छन् । जिल्लाका विभिन्न ठाउँमा बेवारिसे शव फेला पर्ने क्रम बढ्दो छ । २०७८ को साउन १ गते देखि २०७९ भदौ १० सम्म ७ वटा वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बेवारिसे अवस्थामा फेला परेका मध्ये एक शवको मात्र पहिचान भएको छ । बाँकी शवको पहिचान नभएपछि नेपाल प्रहरी र मुसीकोट नगर प्रहरीले व्यवस्थापन गरेका छन् । सानीभेरी गाउँपालिका ४ मेघा फल्ले बगर किनारामा फेला परेको शव सोही गाउँपालिकाको वडा नम्बर ९ मगर राङजाका ३१ वर्षीय अमृत भनिने अमर विकको भएको पहिचान भएपछि परिवारलाई जिम्मा लगाइएको थियो ।
बाकी ६ वटा शव पहिचानको लागि प्रहरीले विभिन्न माध्यम मार्फत सबैलाई जानकारी बनाउँदा पनि शवकोे पहिचान नभएपछि नेपाल प्रहरी र मुसीकोट नगर प्रहरीले सदगद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मुसीकोट नगरपालिका वडा नम्बर ११ रातापहरमा २ वटा र वडा नम्बर ३ गिलवाङमा एउटा बेवारिसे शव फेला परेको थियो ।
त्यस्तै आठबीसकोट नगरपालिका वडा नम्बर ६ त्रिवेणी बगरमा एउटा, सानीभेरी गाउँपालिका वडा नम्बर ३ ज्यामिरे, वडा नम्बर ४ को मुसी झरणा र फल्ले बगर किनारामा एक/एक वटा बेवारिसे शव फेला परेका हुन् । बेवारिसे शव मध्य ६ वटा पुरुषको र एउटा महिलाको रहेको प्रहरीले जनाएको छ । पहिचान समेत खुल्न नसकेपछि उनिहरुको किन मृत्यु भयो भनेर प्रहरीले केही पत्ता लगाउन सकेको छैन् ।
एकपछि अर्को बेवारिसे शव भेटिने र पहिचान समेत खुल्न नसेपछि प्रहरीको समेत आलोचना हुने गरेको छ । प्रहरीले भने घटनाहरुको अनुसन्धान भइरहेको बताउने गरेको छ । पहिचान नै खुल्न नसक्दा पनि अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भर्नाइ छ ।