Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजारबाट बस तथा जीप काउन्टर हटाइयो ‍(भिडिओ सहित)
खलंगामा रहेको एक काउन्टर हटाइदै ।

बजारमा सवारी चापलाई कम गर्ने उदे्श्यले रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ का विभिन्न ठाउँमा रहेका काउन्टर हटाईएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ को सेरिगाउ देखि वडा नम्बर १ को मठसम्म रहेका बस तथा जीप काउन्टर आज हटाईएको हो ।

जिल्लाका यातायात व्यवसायीहरुले आँफैले मागेको समय अनुसार आज खलंगा, बागबजार लगायतका क्षेत्रमा रहेका काउन्टर हटाएका हुन् । यातायात व्यवसायीले मागेको समय हिजो भाद्र १२ गते सकिएपछि आज बिहानै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

हटाउन बाँकी काउन्टरलाई प्रहरीले बन्द गराएको छ । जिल्ला यातायात व्यवस्था समितिको गत भाद्र २ गतेको बैठकमा काउन्टर हटाउन यातायात व्यवसायीले १० दिनको समय मागेका थिए । सोही अनुसार यातायात व्यवस्था समितिले समय दिएको थियो । 

मुख्य बजार क्षेत्रमै काउन्टर राख्दा त्यसले बजारमा सवारी चाप बढाएको र आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेपछि बजार क्षेत्रमा रहेका काउन्टरलाई हटाउने निर्णय भएको जिल्ला यातायात व्यवस्था समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । 

यातायात व्यवसायीले नै मागे अनुसार समय दिएको र सोही अनुसार व्यवसायीले नै काउन्टर हटाएको उहाँले बताउनुभयो । खलंगा, बागबजार लगायतका क्षेत्रमा रहेका काउन्टर मठमा सारिएको छ । अव सबै समितिले मठबाट टिकट वितरण गर्ने छन् । यसबाट बजार क्षेत्रमा सवारी जाम कम हुने अपेक्षा गरिएको छ । 

मुख्य सडकमै रहेका काउन्टर अगाडी लामो समय गाडी रोक्दा सवारी जाम हुने गरेको छ । साँघुरो सडक त्यसमा पनि ठूला सवारी साधन लामो सयम बजारमै रोक्दा अन्य सवारी साधन तथा नागरिकहरुलाई समेत आवत जावतमा ठूलो समस्या भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update