रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसी आईतबारको बाढी र पहिरोको क्षतिको अनुगमन गर्नुभएको छ । भारी वर्षासंगै वडा नम्बर १४ को पिलचौरमा झरेको पहिरोले आईतबार जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमा छोरीलाई पुर्दा दुई आमा छोरीको मृत्यु भएको थियो । यो वाहेक नगरका १३ र १४ नम्बरमा झरेको पहिरोले आधा दर्जन घरमा पूर्ण क्षति र तीन दर्जन घर जोखिममा पर्नुका साथै खेतिबालीमा क्षति पुगेको छ ।
पिपलचौरमै रहेको काष्ठ उद्योग, केही घरहरुमा क्षति भएको अनुगमनपछि नगर प्रमुख केसीले बताउनुभयो । वन उपभोक्ता समितिको भवन, मकैबारी, धानबारीमा क्षति भएको छ । त्यस्तै वडा नम्बर १३ को भल्मा र सोतामा रहेको धानबारी, मकैबारीमा ठूलो क्षति पुगेको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १३ र १४ मा ७ वटा घरहरूमा पूर्ण क्षति र ३५ वटा घर उच्च जोखिममा छन् ।
पहिरोका कारण सडक र विद्युत पुर्ण रूपमा बन्द भएको छ । क्षति भएका घर र जग्गा विवरण संकलनका लागि वडाका जनप्रतिनिधिहरु र नेपाल प्रहरी तथा नगर प्रहरी खटिएको नगर प्रमुख केसीको भनाई छ । साथै अवरुद्ध सडक खुलाउन ब्याकुलोडर र स्काभेटरले काम गरिरहेका छन । आजै साँझ वा भोली बिहानसम्म सडक खुल्ने देखिएको नगर प्रमुख केसीले बताउनुभयो ।
आज आफु यिनै क्षतिग्रस्त स्थानमा पुगेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा अझै क्षति हुने देखिएकोले सर्तक रहन समेत सम्बन्धित ठाउँका मान्छेहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा नगर प्रमुख केसीले पीडितहरुलाई हौसला दिनुभएको थियो । क्षतिका आधारमा राहत दिने समेत प्रतिबद्धता उहाँले जनाउनुभएको थियो ।