Kakhara सबैको खबर सम्पूर्ण खबर
आईतबारको वर्षाले रुकुम पश्चिममा तीन जनाको मृत्यु, एक वेपत्ता, भौतिक संरचनामा ठूलाे क्षति 
आठबीसकोट नगरपालिका १४ मा पहिरोमा पुरिएका जाजरकोटका तीन आमा छोरीलाई निकाल्दै प्रहरी र स्थानीय । फोटोः जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम ।

आइतबार भएको अविरल वर्षाका कारण रुकुम पश्चिममा तीन जनाको मृत्यु भएको भने एक जना वेपत्ता छन् । अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ । आईतबार विहानै देखि भएको वर्षाका कारण सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा ठुलो क्षति पुर्याएको हो । आठबीसकोट नगरपालिका वडा नम्बर १४ पिपलचौरमा पहिरोमा परेर  जाजरकोट भेरी नगरपालिका १ मैदेका आमा छोरीको मृत्यु भयो । नलगाड नगरपालिका १ बाट फर्किदै गरेका ३ आमा छोरी ठूलो पानी परेपछि छेपारे सामुदायिक वनको भवनमा ओत लागेका थिए । माथिबाट झरेको पहिरोले तीन आमा छोरीलाई पुरेको थियो । पहिरोमा पुरिएर ३० वर्षीया आमा बालमति राना र छोरी प्रतिक्षा रानाको मृत्यु भएको थियो । अर्की छोरी ७ वर्षिया तिर्सना राना भने घाईते छिन् । 

त्यस्तै सानीभेरी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय दलविर गुरुङलाई देउता खोलाले बगाउँदा मृत्यु भयो । आईतबार वेपत्ता गुरुङको सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । देउता खोलाले नै बगाएर एक बृद्धा वेपत्ता छिन् । ७४ वर्षिया लिलादेवी गुरुङ वेपत्ता रहेको प्रहरीको भनाई छ । वर्षाका कारण आठबीसकोट नगरपालिका १३ र १४ नम्बर वडाका ७ घर पूर्ण रुपमा क्षति भएको छन् भने ३५ वटा घर उच्च जोखिममा रहेको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । त्यस्तै १४ नम्बर वडामा काष्ठ उद्योगको भवन, घरहरु, वन उपभोक्ता समितिकोे भनव, स्थानीयले लगाएको मकै बाली, धानबालीमा पूर्ण रुपमा क्षति पुर्याएको उहाँले बताउनुभयो ।

वडा नम्बर १३ को भल्मा र सोतामा धान र मकै बालीमा पनि क्षति पुगेको छ । वडाका विभिन्न ठाउँमा सडक र विद्युत पनि पुर्ण रुपमा बन्द रहेका छन् । क्षति भएका घर, जग्गाको विवरण संकलणका लागि वडाका जनप्रतिनिधि र नगर प्रहरी खटिरहेको उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउन ब्याकुलोडर र स्काभेटरले काम गरिरहेको र विद्युत सञ्चालनको पनि काम भईरहेको नगर प्रमुख केसीले बताउनुभयो । सानीभेरी गाउँपालिकामा पनि देउताखोलाले घरहरुमा क्षति पुर्याएको छ । केही घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । देउता खोला आसपासका खेत खोलाले कटान गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update