नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन नेपाल दलित मुक्ति संगठन बाँफिकोट गाउँपालिकाको संयोजकमा दुर्गालाल विक दिपक चयन हुनुभएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रको नेपाल दलित मुक्ति मोर्चा र नेकपा एमालेको नेपाल उत्पीडित मुक्ति समाजको एकता भेलाले दिपकलाई संयोजक चयन गरेको छ भने काले दमाईलाई सह संयोजक चयन गरेको छ । संगठन ३५ सदस्यीय निर्माण भएको छ । संगठनमा मुक्ति मोर्चाबाट २८ जना छन् भने मुक्ति समाजबाट ७ जनाको प्रतिनिधित्व भएको छ ।
संयोजक, सह संयोजक तथा सदस्यलाई संगठनका जिल्ला इन्चार्ज रातो कामीले सपथ ग्रहण गराउनुभएको थियो । बाँफिकोट गाउँपालिका ४, कोटमा भएको भेलामा नेकपाका कर्णाली प्रदेश सदस्य तथा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, संगठनका कर्णाली प्रदेश कार्यालय सदस्य पुष्प वादी, नेकपाका नेता दिपेन्द्र विक मुस्कान, संगठनका जिल्ला संयोजक लालबहादुर शेर्पाली र सह संयोजक नवराज परियारको पनि आतिथ्यता रहेको थियो । संगठनले आठबीसकोटको एकता भेला सकिसकेको छ भने मुसीकोट, त्रिवेणि लगायत गाउँपालिकाको पनि एकता भेला तय गरिसकेको छ ।