Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वः निजामती सेवा दिवसको अवसरमा फुटबल र ब्याड्मिन्टन 
कर्मचारी मिलन केन्द्र रुकुम पूर्वको बैठकका सहभागिहरु ।

रुकुम पूर्वमा निजामती सेवा दिवसको अवसरमा फुटबल र डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरिएको छ । कर्मचारी मिलन केन्द्र रुकुमपूर्वको आयोजनामा निजामती सेवा दिवसको अवसरमा फुटबल र डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरिएको हो । 

निजामती सेवा दिवस हरेक वर्ष भदौ २२ गते मनाइँदै आएको छ । दिवसको अवसरमा जिल्ला स्थित निजामती कर्मचारी बिच मैत्रीपूर्ण फुटबल र डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवम् जिल्ला अनुसन्धान कार्यालयका प्रमुख सञ्जीवकुमार चौधरीले कखरा डटकमलाई जानकारी दिनुभयो । 


अध्यक्ष चौधरीका अनुसार फुटबल प्रतियोगिता यही भदौ १६ देखि १८ गते सम्म हुने छ । फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि निजामती क्षेत्रका कर्मचारीले आफ्नो टिम दर्ता भदौ ११ देखि १४ गते सम्मलाई समय दिइएको चौधरीले जानकारी दिनुभयो । फुटबल प्रतियोगिता सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माविको खेल मैदानमा खेलाइने छ । 

यसैगरी महिला तथा पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिताको सञ्चालनका लागि मिति तय गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ब्याड्मिन्टन प्रतियोगिताको लागि पनि एक÷दुई दिनमै मिति तय गरिने बताइएको छ । 

फुटबल प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नरेन्द्र बुढा मगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । यसैगरी डबल महिला तथा पुरुष ब्याड्मिन्टन प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालयका प्रमुख मित्रलाल पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले नै खेलकूद प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यवस्थापकीय कामको जिम्मा दिइएको कर्मचारी मिलन केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update