बुढेसकाल लाग्यो, खर्कका भेडा हेर्ने कोही भएनन् । पुथाउत्तरगङ्गा गाउँपालिका–११ माथिल्लो सेराका रामकुमार बुढा मगरले ३ दशक अघि देखि पाल्नु भएका सबै भेडा दुई वर्ष अघि बेचिदिनुभयो । उमेर ढल्कँदै जाँदा उहाँले पुख्र्याैली पेसा धान्न सक्नु भएनन् । उहाँले भन्नु हुन्छ –“भेडा बेच्ने मन थिएन, पाल्ने मान्छे नभएपछि उमेर ढल्किँदै गएसँगै एक्लै भेडा पाल्न नसकिने रहेछ ।”
रामकुमार मात्र होइन, यो क्षेत्रमा पहिलेझैं भेडा पालक कृषक छैनन् । एकाध पाका पुस्ताले भेडापालनलाई निरन्तरता दिए पनि युवापुस्ताले चासो देखाएका छैनन् । पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ सँगै अधिकांश वडामा एक दशक अघि सम्म घरैपिच्छे भेडा पालन व्यवसायमा थिए । अहिले यी वडामा फाटफुट मात्र व्यवसायिक भेडापालनमा छन् ।
“लेकबेंसी गराउँदै व्यवसाय फस्टाउने पेसा हो, भेडा पालन” पुथाउत्तरगङ्गा–११ का कार्यवाहक वडाध्यक्ष लयन बुढा मगरले भन्नु हुन्छ–“पहिले घरैपिच्छे भेडा पालन गर्दै आएको व्यवसाय लोप हुँदै गएको छ, अहिले कमै मात्रैले भेडा पालन गरिराख्नु भएको छ ।”
कृषकलाई प्रोत्साहन स्वरूप विभिन्न कार्यक्रम
भेडा पालक कृषकलाई प्रोत्साहन स्वरूप सरकारले विभिन्न कार्यक्रम मार्फत लाभान्वित गराउँदै आएको छ । सङ्घीय, प्रदेश र गाउँपालिका गरी तीन तहकै सरकारले भेडा पालक कृषकलाई प्रोत्साहनमा जोड दिँदै आएको गाउँपालिकाका पशु शाखा प्रमुख भीमप्रकाश केसीले बताउनुभयो ।
गएका आर्थिक वर्षहरूमा सङ्घीय सरकारको ऊन विकासका लागि भेडा प्रवद्र्धन कार्यक्रम, लागत साझेदारीमा भेडा संरक्षण कार्यक्रम, ऊन मिसन अन्तर्गत भेडा प्रवद्र्धन कार्यक्रम, प्रदेश सरकारको भेडा प्रजनन केन्द्र कार्यक्रम साथसाथै गाउँपालिकाले औषधि उपचार, गोठ सुधार एवम् कृषकलाई तालिम तथा परामर्श कार्यक्रम समेत सञ्चालन गरिएको केसीले जानकारी दिनुभयो ।
तीन सय घरधुरी हाराहारीमा भेडा पालक कृषकसँग करिब २१ हजार भेडा गाउँपालिकामा रहेको केसीले बताउनुभयो । कृषकलाई प्रोत्साहनका लागि तीन तहकै सरकारबाट रहेक आर्थिक वर्षमा अनुदानका कार्यक्रम मार्फत लगानी गरिराखेको केसीको भनाइ रहेको छ ।
विदेश पलायनले भेडा पालन घट्दो
पुर्खाले अँगालेको पेसा व्यवसाय भन्दा नयाँ पुस्तामा विदेश पलायन भइरहेकाले भेडा पालनमा कमी आएको छ । एक दशक अघि सम्म युवा पुस्ता विदेश पलायन प्रचलन थिएनन् । ७/८ वर्ष यता देखि युवा पुस्तामा विदेश पलायन हुने गाउँमा चलन चल्ती भएपछि भेडा पालन पेसा घट्दै आएको स्थानीय बृद्धबृद्धाले जानकारी दिएका छन् ।
विगतमा रोजगारका लागि साना देशमा जाने गरेका थिए, अहिले भने अमेरिका, जापान लगायत ठूला देशमा जाने नयाँ पुस्तामा प्रतिस्पर्धा भएकाले पनि गाउँमा पशु पालन पेसा लोप हुँदै गएको पुथाउत्तरगङ्गा–११ का आयुष बुढा मगरले बताउनुभयो । भेडा पालन व्यवसायको महत्त्व नबुझेकै कारण लाखौँ रुपैयाँ लगानी गरी नयाँ पुस्ता विदेश पलायन भइरहेको बुढा मगरले बताउनुभयो । एक/दुई सय भेडा पालनबाट वार्षिक कम्तिमा पनि तीन÷चार लाख रुपैयाँ आम्दानी गरिराखेको बुढा मगरले जानकारी दिनुभयो । भेडा, भेडाको ऊन र ऊनबाट तयार गरिएको सामग्री बिक्रीबाट कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् ।
पुर्खाले भेडापालन गरेर नगदको मुख्य आयस्रोत भेडा बिक्री वापतको पैसा नै हुने गरेको पुथाउत्तरगङ्गा–१० तकका दयाधन घर्ती मगरले बताउनुभयो । घुम्ती गोठ प्रणाली भएकाले भेडापालन व्यवसाय हराउँदै गएको घर्ती मगरले सुनाउनुभयो । दुःख बढी हुने हुँदा नयाँ पुस्ताले भेडापालनलाई व्यावसायिकता दिन नसकेको उहाँको भनाइ रहेको छ । भेडा पालनका लागि जाडो (हिउँद) यामको ६ महिना बेंसी र गर्मी (वर्षा)यामको ६ महिना लेकका ठाउँठाउँमा गोठ बनाइ बस्नु पर्दछ । व्यावसायिक भेडापालकले गर्मीयाममा चरिचरनका लागि तिब्बती सीमा सम्म भेडा पु¥याउँछन् भने जाडोयाममा दाङ सम्म भेडा पु¥याउने गर्दछन् ।