रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा खानेपानीको समस्या भएको छ । आईतबार देउताखोलामा आएको बाढीले आधा दर्जन बढी खानेपानी आयोजनामा क्षति गरेपछि वडाका करिब ३ सय घरधुरी खानेपानीको समस्यामा परेका हुन् ।
वडाध्यक्ष जगदिश नकालका अनुसार आधा दर्जन बढी टोलमा खानेपानीको समस्या भएको छ । खोलामा आएको बाढीले विभिन्न आयोजनामा क्षति गर्दा वडाका पेदीबजार, सिरचौर, झिमचौर, रातामाटागैरा, तिमिले, कमैदे, गुमाखोला लगायत टोलमा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।
खानेपानीको समस्यालाई कम गर्न गाउँपालिकाले मंगलबार १२ सय मिटर पाईप वितरण गरेको छ । उक्त पाईपबाट अस्थायी रुपमा टोल टोलमा खानेपानीको जोहो गरिएको वडाध्यक्ष नकालको भनाई छ । गाउँमा एउटा धारासम्मको व्यवस्था गरिएको छ । यसबाहेक केही टोलवासीले वर्खे मुलबाट काम चलाइरहेका छन् ।
सबैभन्दा बढी समस्या भने तिमिले र कमैदेमा रहेको वडाध्यक्ष नकालले बताउनुभयो । उक्त ठाउँमा खानेपानीको चरम समस्या रहेको उहाँले जानकारी गराउनुभयो । भारी वर्षाका कारण आईतबार देउता खोलमा वाढी आउँदा एक जनाको बगेर मृत्यु भएको छ भने एक वृद्धा अझै वेपत्ता छिन् ।
खानेपानी आयोजना सहित बाढीले सयौं मुरी धान फल्ने खेत, घर र अन्य संरचनामा क्षति गरेको छ ।