रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले देउताखोलाबाट पीडित परिवारलाई राहत वितरण गरेको छ । आईतबार आएको बाढीबाट पीडित वडा नम्बर ३ का ३ परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री र त्रिपाल वितरण गरिएको हो ।
देउता खोलामा बगेर ज्यान गुमाएका दलविर गुरुङ, हालसम्म खोलामा बगेर आमा वेपत्ता हुनुभएकी प्रजित गुरुङ र घरमा क्षति पुगेका ओपेन्द्र ओलीको परिवारलाई राहत बाँडिएको हो । दुवै गुरुङ परिवारलाई समान ५० केजि चामल, ५ केजि दाल, ४ बोत्तल तेल, ५ पोका नुन र एक थान त्रिपाल दिइएको गाउँपालिकाले जनाएको छ ।
ओलीको परिवारलाई भने २५ केजि चामल, ५ केजि दाल, २ बोत्तल तेल, ३ पोका नुन र एक थान त्रिपाल वितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष जगदिश नकालले जानकारी दिनुभयो । ओलीको घर पूर्ण रुपमा क्षतिग्रस्त छ । त्यस्तै बाढीले बगेर ज्यान गुमाएका दलविरका ४ वटा घट्ट र धान खेत नष्ट गरेको छ ।
प्रजित गुरुङको धान खेत, पूर्णबहादुर वस्नेतको एउटा घट्ट, बगाउनुका साथै बाढीले लिलाधर खड्काको मिलमा आंशिक क्षति गरेको बताईएको छ । अन्य स्थानीयको धान पनि खोलाले बगाएको छ । केही घर जोखिममा रहेका छन् ।