Kakhara सबैको खबर सम्पूर्ण खबर
साढे ८ सय माओवादी कार्यकर्तालाई आधारभूत माक्र्सवादी स्कुलिङ
मुसिकाेटमा सञ्चालित स्कुलिङमा सहभागिहरु ।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको आधारभूत माक्र्सवादी स्कुलिङमा साढे ८ सयले भाग लिएका छन् । माओवादीले साउन ६ गतेबाट ११ गतेसम्म ५ दिने जिल्ला स्तरीय र भाद्र ६ देखि ११ गतेसम्म दुई चरणमा पालिका स्तरीय स्कुलिङ चलाएको थियो । जसमा ८ सय ५० जना माओवादी नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरुले सहभागिता जनाएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । जिल्ला स्तरीय प्रशिक्षण उपलब्धिमूलक भएपछि पालिका स्तरमा पनि प्रशिक्षण चलाईएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । पालिका स्तरमा तीन/तीन दिनको प्रशिक्षण संचालन गरिएको थियो ।  

पहिलो चरणमा मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकामा भाद्र ६, ७ र ८ मा स्कुलिङ संचालन भएको थियो भने दोस्रो चरणमा चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा स्कुलिङ चलेको थियो । जिल्ला स्तरीय स्कुलिङ डेढ सयले लिएकामा ६ पालिकामा ७ सय जनाले स्कुलिङमा भाग लिएको माओवादी केन्द्रका जिल्ला संयोजक रोकाले बताउनभुयो । जिल्ला स्तरीय स्कुलिङमा पार्टीका केन्द्रीय तथा प्रदेश स्तरीय नेता र जिल्ला स्तरीय नेता, जनवर्गिय संगठनका जिल्ला स्तरीय नेता लगायतले प्रशिक्षण लिएका थिए । पालिका स्तरीय स्कुलिङमा भने पालिका, वडा तहका नेता कार्यकर्ताले सहभागिता जनाउन पाएको बताईएको छ । 

स्कुलिङमा माक्र्सवादका विभिन्न विषय,  माओवादी नेनृत्वमा भएका विकास, माओवादीले लिएको पहल लगायतका विषयमा नेता कार्यकर्ताहरुलाई सिकाईएको पार्टीले जनाएको छ । जिल्ला स्तरीय स्कुलिङमा माक्र्सवादी ज्ञान केन्द्रका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए भने पालिकास्तरीय स्कुलिङको प्रशिक्षकका रुपमा जिल्लामा रहेका पार्टीका केन्द्रीय तथा प्रदेश सदस्यहरु र जिल्ला स्तरीय नेताहरु रहेका थिए । 

सहभागि सबैलाई लिखित परीक्षामा सहभागि बनाउनुका साथै प्रमाण पत्र पनि प्रदान गरिएको थियो । ‘जनयुद्ध’ कालमा यस्ता स्कुलिङहरु धेरै संचालन भएपनि पार्टी शान्ति प्रक्रियामा आएपछि भने यस्ता कार्यक्रमहरु भएका थिएनन् । कार्यकर्ताहरुलाई माक्र्सवाद पढाएर अनुशासित एवं पार्टीप्रति लगनशिल बनाउन प्रशिक्षण संचालन गरिएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update