रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १३ र १४ मा राहत वितरण गएिको छ । आइतबार आएको बाढी पहिरोबाट पीडित घरपरिवारलाई आठबीसकोट नगरपालिका र रेडक्रसको सहयोगमा राहत वितरण गरिएको हो । १३ नम्बर वडाका ७ घरपरिवार र १४ नम्बर वडाका ११ घरपरिवारलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । सम्बन्धीत ठाउँमै पुगेर राहत वितरण गरिएको हो ।
थोरै भएपनि पीडित परिवारलाई सहयोग पुगोस भनेर राहत वितरण गरिएको नगर प्रमुख रवि केसीले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरो पीडित प्रत्यक घरपरिवारलाई ३० किलो चामल, १ किलो नुन, २ किलो दाल र १ लिटर तेल वितरण गरिएको हो । त्यस्तै रेडक्रसले बाढी पीडित १८ घरपरिवारलाई गैर खाद्य सामग्री सहयोग गरेको छ । प्रत्यक घरपरिवारलाई १ थान त्रिपाल, २ वटा कम्मल, थाली र डिक्चि सहयोग गरिएको छ ।
१८ घरमा पूर्णरुपमा क्षति पुग्दा उक्त परिवार अहिले आफन्तको बसिरहेका छन् । त्यस्तै अन्य क्षतिको विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ । क्षतिका आधारमा आवश्यक राहत र पुनःस्थापनाका लागि पहल गर्ने नगरपालिकाको भनाई छ ।