Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट रिम्ना–तल्लुबगर सडक कालोपत्रेको काम सुरु 
कालाेपत्रेकाे काम सुरु गर्दै ।

जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको रिम्ना देखि तल्लुबगरसम्मको सडक कालोपत्रेको काम सुरु भएको छ । ४५ महिनामा कालोपत्रेको काम सक्ने गरी सडक डिभिजन कार्यालय चौरजहारीबाट ठेक्का लागेको छ । उक्त ठेक्का सम्झौता श्रेष्ठ निर्माण सेवासंग भएको थियो । तर उसबाट यती विल्डर्सले निर्माणको जिम्मा लिएको छ । बिहिबारबाट निर्माणको काम सुरु भएको यती विल्डर्सले जनाएको छ ।

४९ किलोमिटर लम्बाई भएको उक्त सडक कालोपत्रेको ठेक्का रकम १ अर्व रहेको बताईएको छ । एक हप्ता अगाडी मात्र ठेक्का लागेको र बिहिबार देखि काम सुरु भइसकेको यती विल्डर्सका प्रतिनिधि पतिराम रोकाले जानकारी दिनुभयो । समयमै काम सक्ने गरी निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो । जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत पर्ने उक्त सडकले जाजरकोट र रुकुम पश्चिमलाई छुन्छ ।

यो खण्ड कालोपत्रे भएमा डोल्पासम्मको आवागमन सहज हुनुका साथै रुकुम पश्चिमको आठबीसकोट तथा जाजरकोटको नलगाड क्षेत्रका नागरिकहरुले सहजता पाउने छन् । यो खण्ड अन्तरगत यसअघि पनि ठाउँ ठाउँमा स्तरोन्नतिका काम भएका थिए ।     
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update