रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ को मुसीकोट खलंगा वहुमुखी क्याम्पसमा स्थापना भएको चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रृवृत्ति प्रदान गरिएको छ । सहिद यज्ञश्वर शर्माको स्मृति दिवसको अवसरमा उक्त छात्रवृत्ति प्रदान गरिएको हो । क्याम्पसमा २०७२ सालमा १ लाख १५ हजार १५ रुपैंयाको अक्षयकोष स्थापना भएको थियो ।
त्यसैको लाभांसबाट क्याम्पसमा अध्यनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको अक्षयकोषका स्थापनाकर्ता मुकुन्दप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षाशास्त्र संकाय बीएड प्रथम सेमेस्टरमा ३.०३ जीपीए ल्याएका विद्यार्थी लेखन बुढा मगरलाई २ हजार ७५ रुपैंया र प्रशंसापत्र प्रदान गरिएको छ ।
त्यस्तै छैटौं सेमेस्टर स्नातक तह शिक्षाशास्त्र संकायका नरेन्द्र खड्का, दोस्रो सेमेस्टर स्नातक तह शिक्षाशास्त्र संकायका मुना घर्ती मगर, प्रथम सेमेस्टर स्नातक तह व्यवस्थापन संकायका निशा विक, छैटौं सेमेस्टर स्नातक तह व्यवस्थापन संकायका भीमा खड्का र सीता ओलीलाई समान १ हजार ५ सयका दरले नगद र प्रशंसापत्र वितरण गरिएको उहाँले बताउनुभयो ।
हरेक वर्ष जस्तै यो वर्ष पनि गरिब, जेहनदार तथा दलित छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा अक्षयकोषको स्थापनाकर्ता मुकुन्दप्रसाद शर्मा र सुशीला शर्मा, परीक्षा पर्यवेक्षक जलजला क्याम्पस रोल्पाका उपप्राध्यापक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पूर्व सहायक क्याम्पस प्रमुख हर्कबहादुर ओलीले गर्नुभएको थियोे । कार्यक्रमममा प्राध्यापक र विद्यार्थी गरि १ जनाको उपस्थिति रहेको बताईएको छ ।