रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ दादिङमा वडा कार्यालय नजिकै झाक्रीपोले मोडमा पहिरो जाँदा मोटर बाटो अवरुद्ध भएको छ । बिहीबार राति परेको अविरल वर्षाको कारण पहिरो गएको हो ।
त्यहा मात्रै नभई सदरमुकाम रहेको रुकुमकोट देखि दादिङ सम्म आउने मोटर बाटोको धेरै ठाउँमा पहिरो आएको छ । धेरै जसो ठाउँमा जिप आवतजावतका लागि केही युवाहरूले दुई दिन देखि बाटो खुलाउन कोसिस गरिरहेको स्थानीय युवा श्याम पुनले कखरालाई जानकारी दिनुभयो ।
तर वडा कार्यालय नजिकै खसेको पहिरो भने हटाउन नसकिने अवस्था छ । यसका लागि जेसिबी लगाए मात्र सम्भव रहेको पुनले बताउनुभयो । सिस्ने गाउँपालिकाको जेसिबी बिग्रेकाले गाउँपालिकाको जेसिबी तत्काल पठाउन नसकेको गाउँपालिकाले जनाएको छ ।
सर्वसाधारणले भने वडा वा गाउँपालिकाले तत्काल यो समस्याको समाधान गरिदिन माग गरेका छन् । साथै अरु वडामा कुनैपनि समस्या तत्काल समाधान हुने तर ४ नम्बर मा भने लापरबाही हुनेगरेको स्थानीयको आक्रोश रहेको छ ।