रुकुम पूर्वको सिस्ने गाउँपालिकामा भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी संयोजक र गाउँपालिका उपाध्यक्ष गोपाल रेउले उपसंयोजक रहनुभएको छ । जसमा १२ सदस्यीय समिति गठन गरिएको हो । सदस्य सचिवमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाह रहनुभएको छ ।
सदस्यहरूमा जिल्ला स्थित राष्ट्रिय मान्यता प्राप्त दलहरू नेपाली कांग्रेसबाट मदन विसी, नेकपा एमालेबाट कर्णबहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट शान्तेबहादुर विक, नेकपा एकीकृत समाजवादीबाट भिमकान्त उपाध्याय र राप्रपाबाट सुधिरविक्रम शाह रहनुभएको छ । यस्तै सिस्ने गाउँपालिका ६ का दलित महिला सदस्य धनकला विक, सिस्ने गाउँकार्यपालिका समस्य मिना केसी, नागरिक समाजबाट तारकबहादुर शाह र चन्द्रकुमारी दमाई सदस्यमा रहनुभएको छ ।
भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान तथा उनिहरूको लगत संकलन कार्यको लागि राष्ट्रिय भूमि आयोगमा पुनः सूचना गरिदिन पत्राचार गर्ने निर्णय गरिएको छ । सिस्ने गाउँपालिकामा अव्यवस्थित बसोबास गरिरहेकाहरू धेरै भएको अनुमान गरिएको छ । सूचना प्रकाशन भएको ३५ दिनभ भित्र लगत संकलनको कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।