Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले भन्यो नक्सा पास नगरी संरचना नबनाउनु 
चाैरजहारी नगरपालिकाकाे कार्यालय ।

रुकुमको चौरजहारी नगरपालिकाले नक्सा पास नगरी भौतिक संरचना निर्माण नगर्न भनेको छ । घर तथा अन्य संरचना निर्माण, मर्मत, संरचना थप घट लगायतका निर्माणका काम नगरबाट नक्सा पास नगराई नगर्न नगरले भनेको हो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा कसैले पनि नगरपालिकाबाट नक्सा पास नगराइ भवन निर्माण गर्न नहुने व्यवस्था भएको नगरपालिकाले स्मरण गराएको छ । सोही बमोजिम नगर क्षेत्रभित्र कसैले पनि नक्सा पास नगराइ संरचना निर्माण गर्न नपाईने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी गरेको सूचनामा उल्लेख छ । 

नयाँ भवन बनाउने, पुरानो भवन भत्काइ पुनः निर्माण गर्ने, तला थप गर्ने, मोहडा फेर्ने वा साबिकमा थपघट गरी झ्याल, ढोका, बार्दली, कौशी, दलान, टहरा, तवेला, ग्यारेज बनाउने वा पर्खाल बनाउने कार्य नगर्न÷नगराउन सूचनामा भनिएको छ । 

त्यस्तै भवन निर्माण सम्बन्धी अन्य कार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम हुने नगरपालिकाले जनाएको छ । नियम नमान्नेलाई कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ । अव देखि नक्सा पास नगराइ भवन निर्माण कार्य गरेमा सोही ऐन बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update