रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले सवै वडा कार्यालयमा सोलार जडानको काम थालेको छ । गाउँपालिकाले अनियमित विद्युतको समस्यालाई मध्यनजर गर्दै सवै वडा कार्यालयहरुमा सोलार जडानको काम थालेको हो । विद्युत अनियमित हुने हुँदा वडामा काम गर्न समस्या भएपछि सोलार जडानको काम थालिएको गाउँ कार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।
भवन निर्माण भएका सबै वडामा सोलार जडानको काम भइरहेको छ । भवन नभएको ठाउँमा यही आर्थिक वर्ष भित्रै सोलार जडानको काम हुने उहाँको भनाई छ । भवन नभएको तर सोलारको प्यानल राख्न मिल्ने ठाउँ भएको वडा कार्यालयमा भने सोलार जडान गरिने छ । यही आर्थिक वर्ष भित्रै भवन निर्माण हुने कार्यालयमा भने पुषसम्म सोलार जडानको काम हुने प्रवक्ता खत्रीले बताउनुभयो ।
पालिकाको आफ्नै भवन भएका अधिकांश वडाहरुमा सोलार जडान भइसको छ । गाउँपालिकाले ९ लाख ९९ हजारमा वडाहरुको लागि सोलार खरिद गरेको हो । वडामा बत्तिको समस्याका कारण काम नहुने गुनासो आएपछि सोलार खरिद गरि वडा कार्यालयहरुमा जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो । सोलार जडानसंगै आवश्यकता अनुसार कम्युटर जडानको काम पनि हुने ओलीले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाले आवश्यकता अनुसार प्रसुतिगृह भएको स्वास्थ्य संस्थामा पनि सोलार जडान गर्ने बताएकाे छ । साथै बाँफिकोट स्वास्थ्य संस्थामा भिडियो एक्सरे मेशिन जडान हुने भएको छ । मेशिन आईसकेको र जडानको काम भइरहेको गाउँपालिकाको भनाई छ ।