Kakhara सबैको खबर सम्पूर्ण खबर
सुरक्षाकासाथ सडक निर्माण थालियो
तस्बिरः डिल्लीबहादुर खत्री ।

चौरजहारी–विजयश्वरी–खोलागाउँ–नुवाकोट सडक खण्ड अन्तर्गत कालाखोलादेखि मेलैनाउली सम्मको सडक लामो समयपछि निर्माण थालिएको छ । कडा सुरक्षाकाबिच सडक निर्माण थालिएको हो । शनिबार जग्गा धनिसँगको सम्झौतापछि सडक निर्माण कार्य अघि बढाइएको हो ।

निर्माणधिन सडक सञ्चालनका लागि सम्बन्धित जग्गा धनी, नगरपालिका, इलाका प्रहरी, भौतिक पुर्वाधार कार्यालय चौरजहारीबीच सहमती भएको थियो । यस अघि उक्त ठाउँमा पटक–पटक ट्रयाक खोल्न लाग्दा स्थानीयको अवरोध गरेका थिए । स्थानीयको अवरोधले सडक निर्माणले पूर्णत पाउन सकेको थिएन । सडक निर्माण गर्न लाग्दा उक्त ठाउँमा पटक पटक सुरक्षाकर्मी र स्थानीयबीच झडप पनि भएको थियो ।

प्रदेश सरकारको दुई करोड बजेटमा सडक निर्माण गर्न लागिएको हो । पूरानो सडक अप्ठ्यारो र लामो हुने भन्दै नयाँ सडक निर्माण थालिएको हो । सडक निर्माण गर्दा यसपटक अवरुद्ध हुन सक्ने भनेर चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको छ । नगर प्रमुख विशाल शर्माका अनुसार जग्गा धनीले आफूहरुले सडकमा कुनै अवरोध नगर्ने र बाहिरकाले सडक निर्माणमा अवरोध गरेको भनेपछि सडक निर्माणलाई पूर्णता दिन लागिएको हो ।

प्रमुख शर्माका अनुसार यस अघि केही मान्छेले निहित राजनीतिक स्वार्थका लागि सडक निर्माण कार्य अवरुद्ध गरेका हुन । ‘जग्गा धनी आफै नगरपालिकामा आएर सडक निर्माण कार्य अघि बढाउन भन्नुभएको हो,’ प्रमुख शर्माले भन्नुभयो, ‘यसअघि पनि जग्गा धनीले सडक निर्माण कार्य अवरुद्ध गरेको नभइ नितान्त राजनीतिक स्वार्थको लागि अवरोध गरिएको थियो ।’ विकास निर्माण अवरोध गर्नेहरुको योजना अन्तता सफल नभएको भनाई नगरप्रमुख शर्माको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update