नेपाली कांग्रेस रुकुम पश्चिमले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभाका दुई वटै क्षेत्रका लागि केही दिन अघि नै उम्मेदवार सिफारिस गरेको कांग्रेसले संघका लागि आज उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेसले संघमा प्रत्यक्ष र समानुपातिक गरी पाँच जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ गोपालजी जंग शाह सहित तीन जना सिफारिसमा परेका छन् । शाह तीन दशक भन्दा लामो समय देखि चुनाव लड्दै आउनुभएको छ ।
आगामी निर्वाचनका लागि पनि कांग्रेसले शाह सहित जिल्ला सभापति प्रेमप्रकाश ओली र यमबहादुर केसीको नाम सिफारिस गरेको छ । जिल्ला सभापति ओलीको नाम प्रदेश सभाका लागि पनि सिफारिस गरिएको छ ।
हिजो र आज जिल्ला सदरमुकाममा अवस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । बैठकले समानुपातिक तर्फ मानबहादुर नेपाली र मनिषा रोकाय भण्डारीको नाम सिफारिस गरेको जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश निर्वाचन क्षेत्रिय समितिबाट सिफारिस भई आएका प्रदेशसभा तर्फका आकांक्षीहरुको नामलाई समेत जिल्ला समितिले अनुमोदन गरेको उहाँले बताउनुभयो । दुई वटा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट कांग्रेसले प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी १९ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेश सभा ‘क’ को प्रत्यक्ष कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री र टेकबहादुर बस्नेत तथा समानुपातिक तर्फ धिरेन्द्रकुमार बटाला र बालकुमारी गिरीको नाम सिफारिस गरिएको छ । प्रदेश सभा ‘ख’ तर्फ भने प्रत्यक्ष जिल्ला सभापति प्रेमप्रकाश ओली, खड्ग डाँगी, शिव आचार्य, देवबहादुर ओली, थलबहादुर खड्का र लालबहादुर ओलीलाई सिफारिस गरिएको जिल्ला सचिव भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार समानुपातिक तर्फ तिलक भण्डारी, सीता ओली, मोहनप्रकाश आचार्य, देवी पुन, प्रविर ददेल, लोकेन्द्र केसी, दिपक बिएम र राजकुमार वादीलाई सिफारिस गरिएको छ । जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने कांग्रेस दोस्रो पार्टी बनेको छ । नेकपा एकीकृत समाजवादीले यसअघि नै प्रदेश सभा र संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवार सिफारिस गरेका छैनन् ।