Kakhara सबैको खबर सम्पूर्ण खबर
आगामी निर्वाचनका लागि रुकुम पूर्वबाट कुन दलले क-कसलाई उम्मेदवार सिफारिस गरे ?
नेकपा एमाले जिल्ला कमिटीको बैठक । 

दलहरूलाई आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने गृहकार्यको चटारो लागेको छ । जिल्लाका सबै दलहरूले  एकल उम्मेदवार भन्दा पनि दुई भन्दा बढी जनाको नाम माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाएका छन् । अहिले रुकुमपूर्वका अधिकांश दलहरूलाई उम्मेदवार सिफारिसको चटारो लागेको हो । आकाङ्क्षी धेरै हुँदा र भागबन्डा मिलाउँदा पनि दलहरूलाई भ्याइनभ्याई छ । 

नेकपा एमाले
नेकपा एमालेले प्रदेश सभा, प्रतिनिधि सभा र दुबै तर्फको समानुपातिक आकाङ्क्षी उम्मेदवार गरी २२ जनाको नाम सिफरिस गरेको छ । जसमा प्रदेश निर्वाचन (क) बाट प्रत्यक्ष उम्मेदवारको लागि आशा स्वर्णकार, तेजेन्द्र बुढा मगर र मोहनभक्त बुढा मगरलाई सिफारिस गरिएको छ । भने समानुपातिक तर्फ केशकुमारी तुलाचन, सारिका पुन मगर र दिपा सुनारलाई सिफारिस गरिएको छ । 

प्रदेश निर्वाचन (ख)बाट प्रत्यक्ष तर्फ पशुपति खड्का, लीलामणि गौतम, भावना बुढाथोकी र हरिहर पौडेललाई सिफारिस गरिएको जिल्ला कमिटीका सचिव गोपाल रेउलेले कखरालाई जानकारी दिनुभयो । समानुपातिक तर्फ खेममान खड्का, फत्ते ओली, रञ्जित नेपाली, रामलाल केसी र गोपाल सुनारलाई सिफारिस गरिएको सचिव रेउलेले कखरालाई बताउनुभयो । 

प्रतिनिधि निर्वाचन प्रत्यक्ष तर्फ टोपबहादुर ओली, कैलाशकुमार मल्ल र नुमेन्द्रा खड्का र समामानुपातिक तर्फ नन्दलाल शर्मा, लक्ष्मीप्रसाद पुन मगर, निर्माण बुढा मगर र उपेन्द्रलाल कामीलाई सिफारिस गरिएको रेउलेले कखरालाई  जानकारी दिनुभयो । 

नेपाली कांग्रेस
प्रदेश सभा, प्रतिनिधि सभा र समानुपातिक गरी नेपाली कांग्रेसले २५ जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन (क) प्रत्यक्ष तर्फ तिलबहादुर घर्ती, धुतकुमार पुन (गुमाने), कुसुमदेवी पुन, बच्चू पुन, र पूर्णबहादुर मल्ललाई सिफारिस गरेको छ । समानुपातिक तर्फ जितप्रसाद पुन, काजिमान घर्ती, कर्मचिज पुन, तेजेन्द्र खाम, जानबहादुर सेनलाई सिफारिस गरिएको जिल्ला कार्य समितिले कखरालाई जानकारी दिएको छ । 

यस्तै प्रदेश निर्वाचन (ख)बाट प्रत्यक्ष तर्फ गञ्जुसिङ बुढा, भीमबहादुर खड्का, दत्तबहादुर बस्नेत, धनबहादुर केसी र दन्दबहादुर विष्टलाई सिफारिस गर्दा समानुपातिक तर्फ सरिता बिसी, प्रकाश केसी, तिलकबहादुर बुढा, कमला खड्का केसी र पञ्चमान बुढाकको नाम सिफारिस गरिएको छ । 

प्रतिनिधि निर्वाचन प्रत्यक्ष तर्फ हरिशङ्कर घर्ती, सत्यप्रकाश रोका र गोर्खलाल खड्का हुनु भने समानुपातिक तर्फ केशरमान रोका र भावना खड्कालाई सिफारिस गरिएको छ । 

नेकपा एकीकृत समाजवादी (एस)
प्रदेश निर्वाचन (क)बाट भीउमान घर्ती मगर, सुनिता बुढा, भागीप्रसाद बिक र काशिराम पुन उम्मेदवारका आकाङ्क्षीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । यस्तै प्रदेश निर्वाचन (ख)बाट भुबनेश्वर उपाध्याय, ललिता बुढा, केशव शाह र बसन्त गौतमको नाम सिफारिस गरिएको छ । 

प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकाराम उपाध्याय, मोहनबहादुर केसी, भक्त केसी र भारती नेपालीलाई उम्मेदवारको लागि प्रदेश कमिटीमा नाम सिफारिस गरिएको  नेकपा एस रुकुमपूर्वले जानकारी दिएको छ । समानुपातिक तर्फ भने हाल जिल्ला कमिटीले नाम सिफारिस नगरेको जनाएको छ । 

नेकपा माओबादी केन्द्रले भने मङ्गलबार भोलि जिल्ला स्थित शीर्ष नेताहरूको बैठकबाट आकाङ्क्षी उम्मेदवारको नाम सिफारिसको लागि छलफल हुने जनाएको छ ।  

 


 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update