गण्डकी प्रदेशको पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप भइरहेको कर्णाली प्रदेश स्तरीय क्रिकेट छनौटमा रुकुम पश्चिमले दुई मध्य एक खेल जितेको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा भएका दुई मध्य एकमा जीत र एकमा हार सहित रुकुम पश्चिमले प्रतियोगिता सकाएको छ ।
पहिलो खेलमा सुर्खेतसंग पराजित भएको रुकुम पश्चिम दोस्रो खेलमा दैलेखलाई हराउन सफल भयो । सैनिक आवासिय विद्यालयको मैदानमा भएको पहिलो खेलमा रुकुम पश्चिम सुर्खेतसंग ८० रनले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको सुर्खेतले निर्धारित १० ओभरको खेलमा १ सय २८ रन बनाएको थियो ।
१ सय २९ रनको लक्ष पछ्याएको रुकुम पश्चिमले ४९ रन मात्र बनाउन सकेको थियो । दोस्रो खेलमा भने रुकुम पश्चिमले दैलेखलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको दैलेखले ७१ रनको विजयी लक्ष दिएको थियो । जवाफि ब्याटिङ गरेको रुकुम पश्चिमले ३ बल बाँकी छदै उक्त लक्ष ४ विकेटको क्षतिमा पुरा गर्यो ।
६ जिल्लालाई दुई समुहमा विभाजन गरेर एउटा टिमले २ वटा खेल खेल्ने गरी व्यवस्था गरिएको थियो । समय अभावका कारण निर्धारित २० ओभरलाई घटाएर खेलाईएको थियो । त्यस्तै सबै जिल्लाले २÷२ वटा खेल खेलेपछि अव यसैबाट प्रदेशको टिम छनौट गरिने प्रादेशिक क्रिकेट संघले जनाएको छ । छनौटलाई स्थान निकाल्ने गरी संचालन नगरिएको संघले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गते उद्घाटन हुने भएपनि क्रिकेट भने भदौ २३ गते देखि काठमाडौंमा हुने छ ।