रुकुम पूर्व सिस्ने गाउँपालिका–६ छिप्रिदहको एक घर भित्र भेटिएको राज गोमन (किङ कोब्रा) सर्पलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा छाडिएको छ । सिस्ने–६ छिप्रिदहको एक घर भित्र मङ्गलबार साँझ राज गोमन (किङ कोब्रा) नामक सर्प भेटिएको हो । सर्प देखे पछि घरपरिवार र स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रसिंह खड्काको कमाण्डमा खटेको टोलीले सर्पलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा छाडेको हो । सर्प अनुमानित १० फिट लामो र ५ किलो तौलको रहेको बताइएको छ । किङ कोब्रा बढी मात्रा तराईमा पाइने भए पनि २ हजार २ सय मिटर सम्म बाँच्न सक्ने र वातावरणीय प्रभावले पहाडी क्षेत्रमा पनि पाइन थालेको डिभिजन वन कार्यालयका रेञ्जर विश्व केसीले कखरालाई जानकारी दिनुभयो । उक्त सर्प सायड रुकुमपूर्वमा पहिलो पटक देखा परेको हुन सक्ने केसीले बताउनुभयो ।
सर्पलाई भेटिएको स्थान देखि १ किलोमिटर पर जङ्गलमा लगेर छाडिएको छ । “यो निकै विषालु सर्प हो तर, हतपत कसैलाई टोकेको घटना विरलै मात्र छ” केसीले भन्नुभयो–“सर्पलाई कुट्ने, जिस्क्याउने गरिएन भने कसैलाई केही गर्दैन । सुरक्षित छाडिदिँदा आफ्नै बाटो जान्छ ।”