Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगाद्वारा घरैमा स्वास्थ्यकर्मी सेवा 
घरमै पुगि स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्यकर्मी । 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले घरैमा स्वास्थ्यकर्मी सेवा सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशकै सबैभन्दा विकट तथा हिमाली भेगमा अवस्थित पुथाउत्तरगंगाका १४ वटै वडामा घरैमा स्वास्थ्यकर्मी सेवा सञ्चालन गरेको हो । अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत घरैमा स्वास्थ्यकर्मी कार्यक्रम मंगलबार देखि समुदाय स्तरमा घुम्ती स्वास्थ्यकर्मी मार्फत सुरुवात गरिएको स्वास्थ्य शाखाका संयोजक समिर गिरीले कखरालाई जानकारी दिनुभयो ।

कखरासँगै कुराकानी गर्दै संयोजक गिरीले अहेव र अनमी गरी ११ जना स्वास्थ्यकर्मीलाई उहाँहरूको कार्य क्षेत्र तोकिदिएर खटाइएको छ । घरैमा स्वास्थ्य कार्यक्रम मार्फत खटाइएको स्वास्थ्यकर्मीहरूले पालिका भित्रका हरेक घरहरूमा पुगि गाउँपालिकाबासीको स्वास्थ्य अवस्था चेकजाँचका साथै स्वास्थ्य परामर्श दिनु हुने गिरीले कखरालाई बताउनुभयो । जसअन्तर्गत बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धालाई पहिलो प्राथमिकताका साथ समग्र गाउँपालिकाबासीको स्वास्थ्य अवस्था चेकजाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श दिइने गिरीले बताउनुभयो ।

लक्षित वर्गको निःशुल्क स्वास्थ्य बिमा, टेलिमेडिसिन मार्फत चिकित्सकसँग परामर्श लगायत आधारभूत स्वास्थ्य सेवा तथा औषधि उपचार सेवा नागरिकको घरैमा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । बच्चाको नियमित खोप, पोषणको अवस्थाबारे अभिभावकलाई जानकारी गराउने छन् । दैनिकीय जनतासँग जोडिएको लोकप्रिय कार्यक्रम प्रति गाउँपालिकाबासी हर्षित भएका छन् । 

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update