Kakhara सबैको खबर सम्पूर्ण खबर
वर्षातका कारण अवरुद्ध झुल्खेत–चुन सडकखण्ड सुचारु 
सडकमा झरेकाे पहिराे हटाइदैं ।

वर्षातका कारण एक महिना देखि अवरुद्ध रुकुम पश्चिमको झुल्खेत–चुन सडकखण्ड सुचारु भएको छ । वडा नम्बर ४ को शितलपोखरीबाट वडा नम्बर ६ को झुल्खेत हुँदै वडा नम्बर ९ र वडा नम्बर १० को चुनसम्मको सडक अन्तरगत विभिन्न ठाउँमा पहिरो खस्दा लामो समय देखि झुल्खेत–चुन सडकखण्ड अवरुद्ध थियो । 

मुसीकोट नगरपालिकाले वडा नम्बर ९ को घोर्नेटी र मानपुरमा खसेको पहिरो हटाएपछि उक्त सडक खण्ड आजबाट सुचारु भएको मुसीकोट १० का वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । मुसीकोट नगरकार्यपालिकाले नगरका सबै वडा कार्यालय जोड्ने सडक अवरुद्ध भए तत्कालै सुचारु गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार नगरपालिकाले आह्वान गरेको सडक मर्मत टेण्डरबाट उक्त सडक सुचारु गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । लामो समय देखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको थियो । ठुलापैरा, गलम्पाटी, डाँडा साउनेपानी, खर्सुपानी, चौर, मान्पुर, बैरामुल सडक केही समयमा सफाई गर्ने वडा नम्बर १० ले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update